राष्ट्र बैंकका अधिकारीद्वारा मौद्रिक नीतिको बचावट

राजधानी समाचारदाता / काठमाडौं

सरकारले घोषणा गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न चालू आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीतिले सकारात्मक भूमिका खेलेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । मौद्रिक नीति संकुचित भएको भन्ने चौतर्फी रूपमा टीकाटिप्पणी भइरहेका बेला राष्ट्र बैंकका अधिकारीले यस्तो धारणा राखेका हुन् ।

उत्पादनशील क्षेत्रमा बैंकहरूको कर्जा लगानी वृद्धि तथा केन्द्रीय बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा विस्तारले सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिदर हासिल गर्न सहयोगी हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

आईबीएन मिडिया एन्ड रिसर्च तथा नेपाल बैंकर्स संघ संयुक्त रूपमा आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीति २०७४÷७५’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने केन्द्रीय बैंकको नीतिले देशभित्र उत्पादन वृद्धि, रोजगारी सिर्जनामार्फत गरिबी न्यूनीकरण तथा व्यापारघाटा घटाउन मद्दत पुग्ने बताए ।

केन्द्रीय बैंकले मौद्रिक नीतिले कर्जा विस्तारमा अंकुश नलगाएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेप संकलनको आधारमा संयमित भएर लगानी गर्न प्रेरित गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । गत आर्थिक वर्षमा निक्षेप संकलनको तुलनामा कर्जाको वृद्धिदर उच्च हुँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा संकटबाट गुज्रिरहेका छन् । यद्यपि मौद्रिक नीतिले कर्जा निक्षेप अनुपातको सीमामा कुनै परिवर्तन गरेको छैन ।

गत आर्थिक वर्षमा न्यून सरकारी खर्च तथा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा कमीका कारण बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन । जसका कारण बैंक तथा वित्तीय संस्थाहरू उच्च ब्याजदर कबोल गरी निक्षेप बढाउने प्रतिस्पर्धामा छन् । निक्षेप तथा कर्जा दुवैतर्फ ब्याजदर अस्वाभाविक ढंगले वृद्धि हुँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेसरी शाहले स्वाभाविक ब्याजदर वृद्धिले मात्र स्वस्थ अर्थतन्त्रलाई टेवा पु¥याउने बताए ।

त्यस्तै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापाइगाईंसहित उद्योग व्यवसायीका साथै विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघको बैंकिङ समितिका सभापति अनलराज भट्टराईले आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले त्यसमाथि टिप्पणी गरे । राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।