मधेसकेन्द्रित दलसँग आफ्नै नेतृत्वमा वार्ता गर्ने एमाले निर्णय

सुभाष साह / काठमाडौं

प्रमुख प्रतिपक्षी दल एमालेले मधेसकेन्द्रित दलहरूसँग आफ्नै नेतृत्वमा वार्ता गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय जनता पार्टीलगायतका मधेसकेन्द्रित दलहरूसँग वार्ता गरेर राजनीतिक सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो । एमालेका युवा नेताहरूले पछिल्लो समय राजपाका नेताहरूसँग छलफल गरिरहेका छन् ।

बैठकमा मधेसवादी दलका नेतासँग पछिल्लो समयमा सुरु भएको छलफललाई निरन्तरता दिने निर्णय भएको एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । ‘उहाँहरूको सबै एजेन्डाका विषयमा हामी छलफल गर्न तयार छौं, पछिल्लो समयमा सुरु भएको छलफललाई पनि निरन्तरता दिन्छौं,’ भट्टराईले राजधानीसँग भने, ‘हामी हाम्रो कुरा पनि राख्छौं र उहाँहरूको कुरा पनि सुन्छौं । जुन विषयमा कुरा मिल्छ त्यो विषयमा मिलेर अगाडि बढ्ने प्रयास गर्छौं ।’

 निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न माग

२ सय ४० मा फर्किने प्रस्ताव अस्वीकार

पार्टीलाई मधेसविरोधीका रूपमा गलत प्रचार गरेर हल्ला फिजाइएको भन्दै पछिल्लो समय एमालेले मधेसवादी दलका नेता एवं मधेसका बुद्धिजीवीहरूसँग निरन्तर छलफल सुरु गरिरहेको छ । एक साताअघि नै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले मधेसका बुद्धिजीवीहरूसँग छलफल गरेका थिए । यस्तै एमालेले संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमसँग पनि छलफल गर्ने भएको छ । एमालेले अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समयमै निर्वाचन नगर्ने नियतबाट एमालेसमेतको सहमतिमा निर्वाचन क्षेत्र बढाउने भनेर गरिएको प्रचारबाजीप्रति बैठकले आपत्तिसमेत जनाएको छ ।
२ सय ४० क्षेत्रलाई नै निरन्तरता दिने सत्तारूढ दलको तयारीप्रति आपत्ति जनाउँदै बैठकले त्यसलाई अस्वीकार गरेको छ । निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न संविधानले व्यवस्था गरेअनुरूप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने एमालेका माग छ ।
२ असोजमा प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रूपमा विजयी गराउन बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
‘आगामी असोज २ गते हुन गइरहेको प्रदेश २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्न प्रदेश २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्तालाई हाम्रो पार्टी निर्देशित गर्दछ,’ सचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सम्पन्न दुवै चरणका निर्वाचनमा झैं प्रदेश २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्न एकताबद्ध भएर परिचालन हुन हाम्रो पार्टी संकल्प गर्दछ ।’
निर्वाचन सम्पन्न भएका स्थानीय तहमा एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि साउनभित्र अभिमुखीकरण तथा प्रशिक्षण दिने योजना पनि पारित गरेको छ । सम्बन्धित प्रदेश कमिटीलाई अभिमुखीकरण तथा प्रशिक्षणका लागि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी बैठकले दिएको छ ।
त्यस्तै पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी भएकोमा बैठकमा नेताहरूले केक काटेर खुसी साटासाटसमेत गरेका छन् ।