खिम्तीमा भीषण बाढी २ जनाको मृत्यु, ३ बेपत्ता

निरोजकुमार थापा / मन्थली

रामेछाप जिल्लाको उत्तर पूर्वी खिम्तीमा शनिबार मध्यरातको भीषण वर्षापछि आएको बाढीले छतिवने खोलामाथिको मोटरेबल पुल बगाउँदा दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बाढीका कारण साबिक खिम्ती गाविस र फर्पु गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको सो मोटरेबल पुल बगाउँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सो घटनामा लिखु–६ की लालकुमारी खत्री र मन्थली नगरपालिका–१२ का वासु भनिने जयप्रकाश कार्कीको मृत्यु भएको हो । खत्रीको शव घरमै र कार्कीको शव खिम्तीबाट सात किलोमिटर दक्षिण तामाकोसीको किनारमा फेला परेको हो ।

बेपत्ता हुनेहरूमा गोकुलगंगा गाउँपालिका–६ का अशोक तामाङ, उनकी छोरी ममिला तामाङ र सुमनकुमारी खत्री रहेका छन् । यस्तै घाइते हुनेहरूमा सोही स्थानका लक्ष्मी खत्री, कुमार खत्री, भगवती खत्री, सुन्तली खत्री, राधा खत्री, प्रमिशा खत्री र बाँकेका विशाल बुढा र रुद्र गुरुङ रहेका छन् ।

गुरुङ र बुढा फर्पु–खिम्ती सडकमा काम गर्ने मजदुर हुन् । छतिवने खोलामा आएको बाढीले खोलामाथिको मोटरेबल पुल तथा पुलनजिकैका दुई घरसमेत बगाएको छ । खोलामा आएको बाढीले खिम्ती खोलालाई थुनेपछि जम्मा भएको पानीको बहाव एक्कासि खुल्दा सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । खिम्ती खोला र छतिवने खोला किनारमा रहेको सयौं रोपनी खेतसमेत बाढीले बगाएको छ ।
यता खिम्तीकै खानी खोलामा आएको बाढीले खानीखोलामा रहेको मोटर तर्ने पक्की डाइभर्सन बगाउँदा पुष्पलाल मार्गको सम्पूर्ण यातायात सेवा अवरुद्ध भएको छ ।
यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्रतिमृतक १ लाख ४० हजार रुपैयाँ किरिया खर्च र घर भत्किएका परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।