नदीको बहाव बढेपछि दुनै जोखिममा

टेक शाही / डोल्पा

वर्षायाम बढेसँगै नदीमा पानीको सहत बढ्दै गएपछि डोल्पाको सदरमुकाम दुनै बजार जोखिममा परेको छ ।  भेरी नदीमा करिब साढे एक लाख क्युबिक फिटभन्दा बढी पानीको बहाव बढेपछि दुनै बजार उच्च जोखिममा पर्दै आएको छ । समुद्री सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बजार वर्षायाममा बर्सेनी जोखिममा रहने गरेको छ । भेरी नदीमा पानीको सहत बढे पनि हालसम्म धनजन र मानवीय क्षति भनेको गरेको छैन । सुक्खा भू–भाग रहेको दुनै र आसपासका क्षेत्रमा पानी कम मात्रामा गरे पनि  उच्च हिमाली भेगमा हिउँ पग्लिने र पानी पर्ने भएकाले नदीमा पानीको मात्रा बढेको हो ।

भेरी नदीमा पानी बहाव दैनिक रूपमा बढ्न थालेपछि स्थानीय त्रासमा रहेको स्थानीय ओम रोका मगरले बताए । स्थानीयले भेरी नदीको किनारबाटै पर्खाल हालेर घर बनाउने गरेकाले सो बस्ती उच्च जोखिममा रहेको हो । नदीको किनारमा बनेका करिब ७० घर जोखिममा रहेको स्थानीयले बताए । नदीकिनारमा रहेका घर जोखिममा भएकाले त्यस्तो घरमा बसोबास नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी केशवराज

आचार्यले बताए । सदरमुकाम नदीको किनारमा रहेका र पूरै बस्ती जोखिममा रहेको भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले नदीका विभिन्न ठाउँमा तटबन्ध गर्दै आएको छ ।

हरेक वर्ष वर्षायाममा पानीको बहाव बढ्ने र नदीले क्षति गर्दै जाने भएकाले दुनैका स्थानीयले केही हदसम्म भए पनि क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकले बताए । सदरमुकाम नदीकै किनारमा भएकाले नदीमा दिनहुँ फोहोर बढ्दै गएको छ । खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले विभिन्न समयमा सरसफाइ गरे पनि वर्षायाममा पानीको बहाव बढ्दा भने नदीकिनार सफा हुने गरेको छ । पाँच वर्षभित्र भेरी नदीको पानी अञ्जुली भरेर पिउन मिल्ने योग्य बनाउने नवनिर्वाचित ठूली भेरी नगरपालिकाका उपप्रमुख योगन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाएका छन् ।