१२ वर्षे बालक ‘अभिभावक’

रुद्र सुवेदी / नेपालगन्ज

कोहलपुर नगरपालिका–४ बेलनपुरका १२ वर्षीय मो. तौसिब खाँ बेडुवाको काँधमा अढाइ महिनाकी बहिनीसहित ६ जनाको भरण पोषणको जिम्मेवारी आइपरेको छ । गत २६ असारको राति तौसिबका बाबु मो. अब्ताफ बेडुवाले आमा गुल्सन बेडुवाको घाँटी रेटेर हत्या गरेपछि आफूसहित तीन बहिनी र दुई भाइको जिम्मेवारी तौसिबको काँधमा आएको हो । तौसिबका १० वर्षका भाइ मो. सुशील खाँ बेडुवा, ८ वर्षका भाइ मो. तसलिम खाँ बेडुवा, बहिनीहरू ६ वर्षिया इस्मा खाँ बेडुवा, ४ वर्षीया इल्मा खाँ बेडुवा र अढाइ महिनाकी रहिस्मा खाँ बेडुवा छन् ।

बाबुले आमाको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेपछि घर परिवारले वास्ता नगरेका कारण आफूसहित तीन बहिनी र दुई भाइको अभिभावकीय जिम्मेवारी तौसिबको काँधमा आइपरेको हो । घरमा ठूलोबा र दुई काकाका साथमा बाजे बज्यै भए पनि घटनाको दिनदेखि नै बाजे, ठूलोबा र काकाहरू फरार भएको र घरमा भएकी बज्यैले वास्ता नै नगरेकाले मावलीको संरक्षणमा पुगेको उनले बताए ।

उनले भने, ‘बुबाले आमालाई मारेपछि सबै घर छोडेर भागे । घरमा भएकी बजैले पनि हेरचाह नगरेकाले मावलीमा बसेका छांै ।’ घटनाको एक दिनअघि आमा गुल्सनले घरमा रहेको कवाड फलामे छड बेचेर आँप किनेर आफूहरूलाई खान दिएको निहँुमा बुबाले आमालाई कुटपिट गरेको र अर्कोदिन भारतको बहराइचमा ‘पीर’ बाबाको मजारमा ‘कसम खान हिँड्’ भनेर लिएर गएको बताए । उनले घटना सम्झँदै भने,

‘हत्याको एक दिनअघि कवाड सरिया (छड) बेचेर आँप किनेको अर्को दिन बिहान बहराइच पीर बाबाको मजारमा कसम खान जान भनेर साइकलमा बुबाआमा र सानी बहिनी हिँडे म पनि पछिपछि लागें । तर मलाई बुबाले लखेटेपछि घर फर्किएँ ।’ उनले बुबालाई घरबाट निस्कने बेलामा कान्छी आमाले बुबालाई केही हतियार जस्तो दिएकोे देखेकाले आफू पछिपछि लागेको बताए ।

मृतक गुल्सनका बुबा शौकत अलि खाँ बेडुवाले आफ्नै भान्जासँग गुल्सनको विवाह गरिदिएका थिए । माइती र घरको दूरी पाँच सय मिटरमा रहेको छ । आफ्नै सहोदर दिदीको छोरा मो. अब्ताबसँग विवाह गरे पनि अब्ताबले कान्छी श्रीमती नल्याउँदासम्म उनीहरूको सम्बन्ध राम्रै रहेको तर, अब्ताबले कान्छी श्रीमती भिœयाएपछि उनीहरूको सम्बन्ध चिसिँदै आएको गुल्सनका बुवा शौकतले बताए । कान्छी ल्याएपछि छोरीलाई अत्यन्तै दुःख दिन थाल्यो, चार वर्षदेखि छोरी र नातिनातिनीको खाना खर्चदेखि लत्ताकपडासमेत  घरबाटै पठाइदिँदै आएकोउनले बताए । २८ वर्षीया छोरी गुल्सन बेडुवालाई गुमाएका शौकतले गुल्सन र अब्ताब बहराइच जान बिहानै घरबाट हिँडेको भए पनि शौकतका साला जानअली बेडुवाले साँझ ४ बजे फोन गरेपछि मात्र जानकारी पाएका थिए ।

अढाइ महिनाकी नातिनी काखमा लिएकी गुल्सनकी आमा जुवेदन बेडुवाले भनिन्, ‘ज्वाइँले कान्छी विवाह गरेपछि छोरीलाई दुःख दिन थाल्यो । ६ वटा बच्चा भइसकेको अवस्थामा विवाहित छोरीलाई कसरी माइती घरमा राखौं भनेर सकेको सहयोग गरेकी थिएँ ।’ नातिनातिनीले आमा खोज्ने गरेको बताउँदै उनले भनिन्, ‘कान्छो नाति र नातिनी आमा खोजेर हैरान पार्छन्, सानी बच्चीले आमाको दूध खोज्छे,’ गहभरी आँसु पार्दै उनले भनिन् ।

ज्यामी काम गर्ने अब्ताब गाँजा र अन्य लागूऔषधका अम्मली रहेको उनले बताइन् । गुल्सनले २५ असारमा घरमा रहेको कवाड सरिया बेचेर बच्चाहरूलाई आँप खुवाएको भन्दाभन्दै पनि कुटपिट गरेका थिए । घटना सम्झँदै गुल्सनका बुबा शौकतले भने,

‘बिहान ९ बजेतिर बहराइच जाने भनेर निस्केछन् । गोहा गाउँमा रहेको एक पसलमा समेत झगडा गरेछन् । गुल्सनको हत्या गरी उसको पति अब्ताब इलाका प्रहरी कार्यालय कोहलपुर पुगेपछि अब्ताबका घर परिवार एकाएक फरार भएको र उनीहरू गुल्सनको अन्तिम संस्कारमा समेत सहभागी नभएको कोहलपुर नगरपालिका–४ का वडाध्यक्ष सुरज जागाले बताए । उनले भने, ‘हथकडी लगाएको अवस्थामा लिएर प्रहरीले मेरो घरको बाटो हुँदै अब्ताबलाई ल्याएको थियो । म पनि सोही बेलामा घटनास्थल पुगेको थिएँ ।’

वडाअध्यक्ष जागाले छोराले बुहारीको हत्या गरे पनि अब्ताबको आमाबुबादेखि घरका अन्य सदस्य कोही पनि अन्तिम संस्कारको काममा होस् वा पोस्टमार्टमदेखि घरमा ल्याउने कार्यमा कोही सहभागी नभएको बताए । गुल्सनको अन्तिम संस्कार इस्लामिक प्रचलनअनुसार माइतीले गरेको छ । करिब ५०÷ ६० हजार खर्च भएको होला सबै सरसापट गरेर चलाएको आफूलाई जानकारी भएको वडाअध्यक्ष जागाले बताए ।

मृतक गुल्सनका आमाबुबा र छोराछारीले आफूहरूको सुरक्षा तथा भरणपोषणको व्यवस्था गरिदिनको लागि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई भेटेका छन् । मृतक गुल्सनका पिता शौकतले नातिनातिनीको सुरक्षा तथा उनीहरूको भरणपोषणको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आफूले घटनाको निष्पक्ष अनुसन्धान गर्ने र बालबालिकाको भरणपोषणका लागि जिल्ला बालकल्याण समितिमार्फत पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।