जीवितै छ खलिया प्रथा

मिमसिंह नेपाली / हुम्ला

खलाँती चलाएर दैनिक कुटो,कोदालो हँसिया बनाउँदै जीविकोपार्जन गर्दै आएका छन् सिमकोट गाउँपालिकाका–६ का गोरे सुनार । ७२ वर्षको उमेरमा पनि गोरे सुनारले गाउँलेका लागि कृषि पेसामा आवश्यक पर्ने ज्याबल बनाएरै उनीसँगै उनको परिवार पाल्दै आएका छन् ।

आरनमा काम गर्दै सिमकोट गाउँपालिका–६ का गोरे सुनार ।

गाउँलेका लागि कृषिमा प्रयोग हुने ज्याबल बनाइदिएबापत उनले गाउँलेबाट केही अन्न र नुनतेल पाउने गरेका छन् । यो गाउँमा चलेको पुरानो खलिया प्रथा हो ।‘यो काम नगरे परिवारको पेटमा अन्न पर्दैन,’ वृद्ध सुनारले भने । परम्परागत रूपमा रहेको खलिया प्रथाकै भरमा परिवार चलेको उनले बताए ।

सरकारले २०६७ असोज २१ मा मुलुकबाट खलिया प्रथा अन्त्य गरेको घोषणा गरे पनि हुम्लामा हालसम्म जिल्लाभरि नै खलिया प्रथा कायमै रहेको छ । पुख्र्यौली पेसाकै रूपमा आरन चलाउँदै आएको सुनारले बताए । आरनमा काम गरे पनि घरमा कोदो, चिनो, फापरलगायत खाद्यान्न भित्रिने गरेको उनले सुनाए । उनले १२ वर्षको उमेरदेखि आरनको काम गर्दै आएको बताए । उनले दिनमा चार जनालाई सेवा दिन सक्छन् ।

 आफ्नै जग्गामा उब्जनी भएको अन्नले तीन महिना मात्र धान्ने गरेको उनले बताए । आरन चलाएरै ११ जनाको परिवार पाल्दै आएको र अन्य खर्च पनि जुटाउने गरेको उनको भनाइ छ । नातिनातिना पढ्न थालेपछि घरको खर्च बढेको उनले दुखेसो गरे । हालै नातिलाई ओभरसियर पढाउन २ लाख ५० हजारमा दुईवटा जग्गा बेचेको र बाँकी खर्च आरनबाटै कमाउँदै नातिको पढाइ खर्च धान्दै आएको उनले बताए । खलियाकै रूपमा काम गर्दै आएका जिल्लाका अरू व्यक्तिले हलियाको रुपैयाँ पाए पनि आफू हलियामा नपरेको उनको गुनासो छ ।

यसैगरी ठेहेका ५४ वर्षीय दानसिंह दमाई पनि कपडा सिलाएरै घरपरिवार चलाउँदै आएका छन् । खलियामा काम गर्दै आएको र लुगाकपडा सिलाएप्छि जेठमा जौ र कात्तिकमा फापर पाउने गरेकाले उनले बताए ।

आफ्नो जग्गाको उत्पादनले ३ महिना मात्रै पुग्ने उनले बताए । यस्तै ठेहे–६ कै  दानसिंह कामीले पनि कहिले आरनको काम र कहिले मजदुरी गरी परिवार पाल्दै आएको बताए । यहाँका अधिकांश दलित बस्तीमा घरको उत्पादनले तीन महिना मात्र खान पुग्ने बताएका छन् । सरकारले दलितलाई धेरै अधिकार दिएको भने पनि आरनमा नबसी आफ्नो घरको चुल्हो नबल्ने दानसिंह कामीले गुनासो गरेका छन् ।