‘अंगीकृतलाई राष्ट्रपति बनाउने पक्षमा छैनौं’

पर्सा / रासस– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका–२१ पटेलनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमान्सरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गरेका छन् ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको स्पष्ट पार्दै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । निर्वाचन आयोगमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले बताए ।

यसैबीच वीरगन्ज–२१ पटेलनगरका एक आगलागीपीडितको घरको शिलान्यास गर्दै नेता ठाकुरले देशमा प्राकृतिक विपत्ति आउँदा पुरै देश नै एकजुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गरेका छन् ।