भ्रष्टाचार मुद्दा दायर

राजधानी समाचारदाता / काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार दिउँसो शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । आयोगले दाबी गरेको सो बिगो अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।

आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख गरेबमोजिमको कसुर पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बरबराबर जरिवाना हुने व्यवस्था छ । कर फस्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल भने अझै फरार छन् भने सदस्य सचिवसमेत रहेका शर्मा आयोगकै नियन्त्रणमा छन् । अख्तियारले कुल १ हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याएको हो ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा कर फस्र्योट आयोगबाट अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको थियो ।  २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फस्र्याेट आयोग गठन गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । आयोगका अनुसार सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरिएका कारण शर्मा महत र ढकाल अनुसन्धानको घेरामा परेका हुन् । कर फस्र्योट आयोगमा ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फस्र्याेट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्य कोषमा जम्मा भएको थियो । गत वर्ष महालेखापरीक्षकको कार्यालयले आयोगको प्रतिवेदन माग्दा आन्तरिक राजस्व विभागसहित अर्थ मन्त्रालय समेतले असहयोग गरेका थिए । सार्वजनिक लेखा समितिमा महालेखाका अधिकारीहरूले लेखापरीक्षणको अन्तिम अवधिमा आएर प्रतिवेदन उपलब्ध गराएका थिए ।

‘कर फस्र्योट आयोग २०७१ बाट कर फस्र्योटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग कर फस्र्योट ऐन २०३३ समेतको कानुनमा उल्लिखित प्रावधानविपरीत कर फस्र्योट सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानी नोक्सानी पु¥याएको भन्ने समेत उजुरीका आधारमा छानबिन गर्दा पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले दायर गरेको मुद्दामा शर्मा, महत र ढकालसमेतको मिलेमतोमा कर छुट दिइएको उल्लेख गरिएको छ । करदाता स्वयंले घोषणा गरेको करसमेत नलिएर छुट दिएको अख्तियारको दाबी छ ।

शुक्रबार नै अख्तियारले मुद्दा दर्ता गर्ने तयारी गरे पनि समय अभावका कारण दर्ता भएको थिएन । गत चैतमा महालेखापरीक्षकको कार्यालयले आÏनो वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा कर फस्र्योट आयोगबाट ठूलो अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको थियो ।