प्रहरीमा प्रोपोगान्डा बढी : मन्त्री शर्मा

राजधानी समाचारदाता / काठमाडौं

नेपाल प्रहरीमा धेरै ‘प्रपोगान्डा’ हुन थालेको भन्दै त्यसलाई रोक्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । नेपाल प्रहरीको सञ्चार शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राम्रो काम गर्नुभन्दा पनि पहिला मिडियामा प्रपोगान्डा सुरु हुने र त्यसले प्रहरीमा काम गर्नेको भन्दा प्रपोगान्डा गर्नेहरूको बोलवाला रहेको बताए । ‘प्रहरीमा कम्युटर र सञ्चारबाहेक अर्को एउटा शाखा छ, हरेकका उपल्ला स्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा,’ उनले भने, ‘त्यो शाखा बाहिर छ, हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस् चलाउन पाइँदैन ।’

गृहमन्त्री शर्माले बाल्यकालमा सबैभन्दा पहिला टोपाराम ठानदार नामको प्रहरी देखेको स्मरण गर्दै अबको समयमा टोपाराम ठानदारले मात्र नपुग्ने बताए । ‘मैले सबैभन्दा पहिले देखेको प्रहरी टोपाराम ठानदार स्मार्ट थिए,  त्यतिबेला तिनी ठीक थिए तर आज टोपाराम ठानदारले पुग्छ त ?’ उनले भने, ‘हिजो टोपाराम देख्दा मान्छे भाग्थे तर अहिलेको प्रहरीले जनतालाई नजिक ल्याउनुपर्नेछ ।’ साइबर क्राइम कसरी नियन्त्रण गर्ने भन्नेबारे श्रीलंकामा भर्खरै सम्पन्न गृहन्त्रीस्तरीय बैठकमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘साइबर क्राइम नियन्त्रण गर्नेबारे हामीले निर्णय गरेका छौं, एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनि छलफल भएको छ ।’ नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वय गर्न सकिने उल्लेख गर्दै त्यसका लागि योजना बनाएर ल्याउन पनि उनले निर्देशन दिए ।

प्रहरी संगठनमा हरेकको ध्यान सरुवा र बढुवामा मात्र गएको बताउँदै उनले यसले समस्या पैदा भएको दाबी गरे । ‘प्रहरी एकेडेमीले तालिम गराउनेबाहेक अनुसन्धानको काम पनि गर्नुपर्छ,  अनुसन्धानको कार्यशाला सञ्चालन गर्नुपर्छ, तालिम मात्र गरेर हुँदैन,’ मन्त्री शर्माले भने ।

सरुवा बढुवा संगठनको हितमा

गृहमन्त्री  शर्माले नेपाल प्रहरीका एआईजी, डीआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिस संगठनको हितमा भएको दाबी गरे ।  बढुवा गर्दा कतिपय व्यक्ति विशेष मर्कामा परेको आफूलाई जानकारी रहेको बताउँदै अहिलेको बढुवाले प्रहरीलाई संस्थागत रूपमा न्याय गरेको उनको भनाइ छ । ‘व्यक्तिलाई अन्याय परेको होला, नियतवश अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै व्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’

‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ,’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरि पनि सम्बोधन गरौंला ।’ धेरै जवान र अधिकृतबाट गराइरहेको काम एउटा प्रविधिले गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै उनले संगठनको स्वरूप बदल्नुपर्ने आवश्यकता रहेको बताए । ‘आज हामीलाई प्रविधियुक्त स्मार्ट पुलिसिङ आवश्यकता छ,’ उनले भने, ‘अहिले प्रविधि प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधियुक्त प्रहरी बनाउनुपर्नेछ ।

इन्टरनेटबिनै इमेल

प्रहरीमा रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानीमार्फत इन्टरनेट सुरु भएको छ ।  रेडियो प्रविधि एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट इन्टरनेटबिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गर्ने हो भने इन्टरनेट चलाउन सकिन्छ । त्यसैगरी इमेल सर्भरमा जडान गरिने हो भने व्यक्तिगत इमेल ठेगाना खोलेर पनि यो प्रविधिबाट इमेल पठाउन सकिन्छ । प्रहरीले आइतबारबाट यो सेवाको सुरुवात गरेको छ । यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुविधा छैन, त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधिसमेत भएकाले उपयोगी हुने नेपाल प्रहरीको भनाइ छ ।