‘प्रचण्ड’ले बनाउने भए चलचित्र ‘बाह्रमासे’

काठमाडौं / रास– टेलिभिजनको पर्दामा लामो समय नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदीप पाठकले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

उनले ‘बाह्रमासे’ नामको चलचित्र निर्माण गर्न लागेका छन् । बाह्रमासे चलचित्रमा भद्रगोललगायत अन्य थुप्रै टेलिचलचित्रका चर्चित हास्यकलाकारहरूको अभिनय रहने पाठकले बताएका छन् । सो हास्यप्रधान चलचित्र ‘बाह्रमासे’को निर्देशन लामो समयदेखि कलाकारितामा संलग्न रहेकी चर्चित हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले गर्ने भएकी छन् । चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की (बेलासे) मुख्य पात्रका रूपमा देखिने भएका छन् ।

यसका साथै चलचित्रका अन्य कलाकारहरूमा मधुसूदन पाठक (सीते बा), सीपी पुडासैनी (धतुरे) गोविन्द कोइराला (जयन्ते), शूरवीर पण्डित, रामचन्द्र अधिकारी, केदार न्यौपाने, निर्मल शर्मा (गैंडा), अरुणा कार्की, रोहित दंगाल, रोहन , राधा लम्साल (भावु) निरु खड्का (निर्मली), सुदीप बराल, सुशील सैंजु, अमृता भट्ट, पत्रकारहरू ऋषि धमला र जनार्जन पौडेललगायत रहेका छन् । चलचित्रमा दुई गीत रहने र दुईवटै गीतमा हालका चर्चित गायिका मीना निरौला र सञ्जय बरालको स्वर रहने बताइएको छ । सिनेमा कात्तिक पहिलो हप्ता अर्थात् तिहारमा रिलिज गरिने निर्माण पक्षले बताएको छ । सो चलचित्रको छायांकन काभ्रेको नाला, पनौती, खोपासी , पाँचखाल, भकुण्डे आसपासमा गर्ने निर्माता पाठकले बताएका छन् ।