एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

राजधानी समाचारदाता / काठमाडौं

यस वर्ष अस्ट्रेलियामा जारी नेपथ्यको शृंखलाबद्ध प्रस्तुतिअन्तर्गत दोस्रो कन्सर्ट  शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ । स्तरीय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरूको निम्ति विश्वमै प्रसिद्ध भरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अस्ट्रेलियाली राज्य ‘साउथ अस्ट्रेलिया’को राजधानी पनि हो ।

सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीको बसोबास रहेको छ । यति हुँदाहुँदै पनि लगभग ३ हजार नेपालीको बसोबास रहेको यस सहरमा झन्डै ३०  प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्ट हल आइपुगेका थिए । ‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरूलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो ।’ घलेका अनुसार सन् २०१२ मा नेपथ्य सिड्नीको टाउनहलमा प्रस्तुत हुँदै गर्दा धेरै दर्शकहरू सुरक्षाका कारण बाहिरै रहन बाध्य हुनुपरेका मध्ये एक उनी पनि थिए ।

‘सिड्नीको मुटुमै रहेको त्यो प्रसिद्ध हलबाहिर कुनै नेपाली कार्यक्रमकै कारण सडकमा ट्राफिक जाम भएको र थुप्रै प्रहरी परिचालित गर्नुपरेको त्यो घटना आफैंमा अविस्मरणीय बन्न पुगेको थियो,’ खुम भन्छन्, ‘त्यतिबेला अगाडि नै हल भरिएको कारणले सयौं दर्शकहरू कार्यक्रम नहेरेरै फर्किनुपरेको थियो ।’ त्यस्तो अवस्थामा शनिबार एडिलेडको कार्यक्रममा भने एक जना पनि नेपाली दर्शक निराश भएर फर्किनुनपरेकोमा खुम आफूलाई गौरव महसुस भएको बताउँछन् ।

आफ्नो भवनमै घण्टाघरसमेत समेटेको सय वर्ष पुरानो नरउड कन्सर्ट हल आफैंमा एडिलेडस्थित ऐतिहासिक भवन हो । कार्यक्रमको प्रारम्भमै नेपथ्यको भर्खरै रिलिज भएको म्युजिक भिडियो ‘घरको कुरा’ पनि प्रस्तुत गरिएको थियो । गीतको भावले दर्शकहरूको मनलाई छोएको देखिन्थ्यो ।

‘यसका शब्दहरू कति बलिया रहेछन्,’ तीन वर्षदेखि एडिलेड बस्दै आएका प्रदीप खत्री भनिरहेका थिए, ‘घरलाई सम्झेर एकछिन त आफूलाई थाम्न पनि मुस्किल भयो ।’

यतिबेला दक्षिणी गोलाद्र्धमा जाडोको महिना चलिरहेको छ । अर्थात् जब वायुको तापक्रम ११ डिग्रीमा ओर्लिएको थियो ठीक त्यतिबेलै नेपथ्यको कन्सर्ट सुरु हुनेबित्तिकै नरउड हलको तापक्रम भने उच्च बन्न पुगेको थियो। ‘शिरफूल’ देखि लिएर ‘यो जिन्दगानी’सम्म दर्शकलहरले अमृत सँगसँगै गीत गाएका थिए ।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महसुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ, त्यसैगरी त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्ट्याउन नसक्ने गरी आत्मीयता महसुस गराइरहेको हुन्छ । यति धेरै माया गरेर तपाईंहरूले मलाई यति ठूलो ऋणी बनाइरहनुभएको छ, जसको म उल्लेख पनि गर्न सक्दिनँ ।’

रातको ठीक ८ बजे सुरु भएको कन्सर्ट दुई घण्टासम्म चलेको थियो । अमृतलाई सधैंझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्यान्ड अब सिड्नीमा भव्य प्रस्तुतिका लागि न्यु साउथ वेल्स राज्यतर्फ प्रस्थान

गर्नेेछ । विश्वप्रसिद्ध हार्बर ब्रिजकै तल अवस्थित लुना पार्कको विशाल अडिटोरियममा २२ जुलाईका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरू घन्काएर सिड्नीलाई सधैंजस्तै तरंगित बनाउने अठोट लिएको छ ।