१ करोड ग्रामीण क्षेत्रमा प्रवाह

मकवानपुर / रास— ग्रामीण क्षेत्रको दूध संकलनपछि प्रशोधन र बिक्री गर्दै दुग्ध वितरण संस्थानले दैनिक १ करोडभन्दा बढी रकम ग्रामीण क्षेत्रमा प्रवाह गर्न सफल भएको छ । ४४ जिल्लामा ८ वटा आयोजनामार्फत संस्थानले करिब २ लाख कृषकबाट सरदर दैनिक २ लाख लिटर दूध संकलन गर्छ ।

आयोजनाले ग्रामीण क्षेत्रको दूध संकलन गरेर प्रशोधित दूध र दुग्धजन्य पदार्थहरू बिक्री गर्दै गाउँमा पँुजी पठाउन सफल भएको हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख सन्दीपराज प्रधानले बताए । उक्त पुँजीले ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न महŒवपूर्ण भूमिका निर्वाह गरेको प्रमुख प्रधानको जिकिर छ ।

आयोजनाको हेटौंडा शाखाबाट मात्रै फ्लस सिजनमा प्रतिदिन ४० हजार लिटर र सुक्खा सिजनमा १५ हजार लिटर दूध संकलन हुन्छ । हेटौंडा आयोजनाले सुक्खा सिजनमा दूध अभाव भएपछि भारतको पटना डेरीबाट दूध आयात गरी काठमाडांैलगायतका सहरमा पठाउने गरेको छ ।

६० हजार भण्डारण क्षमता रहेको हेटौंडा आयोजनाको प्रतिघण्टा ३ हजार लिटर प्रशोधन क्षमता रहेको प्रधानले बताए । हेटौंडा आयोजनाका अनुसार चालू आवको जेठ मसान्तसम्म यो क्षेत्रमा मात्रै ५९ लाख ८७ हजार १ सय ६५ लिटर दूध संकलन भएको छ ।

यसैगरी यस अवधिमा २ लाख ९१ हजार ८ सय ६ लिटर दही, ३५ हजार ६ सय ७७ केजी पनिर उत्पादन गरेको आयोजनाले जनाएको छ । आयोजनाले दुधसँगै आइसक्रिम, प्रशोधित क्रिम, मक्खन, लालमोहन, पेडा, खुवा, होलमिल्क, टी मिल्क, दही र पनिर उत्पादन गर्दै आएको छ ।

हेटौंडा आयोजनाअन्तर्गत रौतहट जिल्लामा दुईवटा, सर्लाही जिल्लामा चारवटा र बारा जिल्लामा एउटा चिलिङ सेन्टर छन् । यसैगरी सहकारीबाट सञ्चालित ३२ वटा चिलिङ सन्टर छन् ।

१ सय ६० वटा दूध उत्पादक सहकारी आयोजनामा सिधै आबद्ध छन्, जसबाट गाउँको दूध सिधै डीडीसीमा आइपुग्छ र नगद पुँजी गाउँ भित्रिन्छ । यसबाट मात्रै २० हजारभन्दा बढी परिवारहरू प्रत्यक्ष लाभान्वित हुने हेटौंडा आयोजनाको दाबी छ ।