म्युजिक स्ट्रिमिङ सेवा शुभारम्भ

काठमाडौं / रास– नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा आइतबार शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरेका हुन् । उपाध्यायले मोबाइल एपमार्फत स्ट्रिमिङ सेवा शुभारम्भ गर्दै राष्ट्रको सञ्चारका रूपमा रहेको नेपाल टेलिकम र देशकै अग्रणी संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकामा खुसी व्यक्त गरे । उनले मोबाइल प्रयोगकर्ताबीच यो एप लोकप्रिय हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे । उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एपका रूपमा म्युजिक नेपाल एपले विश्वास जित्ने आशा व्यक्त गरे ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले म्युजिक नेपाल एपमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने धारणा राखे ।

म्युजिक नेपाल मोबाइल एप डाउनलोड गरी सोमार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरू मात्र नभई पुराना सदावहार नेपाली गीत पनि चौबिसै घण्टा सुन्न सकिने व्यवस्था गरिएको छ । यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाका लागि उपभोक्ता शुल्क नलिई उपलब्ध गराइनेछ । एक महिनापछि ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रूपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप खोलेर आफ्नो मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाइ गरी योे प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् । हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध रहेको छ भने छिट्टै आईओएसमा समेत उपलब्ध गराइनेछ ।

यो सेवामार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीतहरू मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरू समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।