बौद्ध कुलको कुमारी प्रथा

 बौद्ध कुलको कुमारी प्रथा

किरण बुढाथोकी

५ सय वर्षभन्दा पुरानो परम्पराको निरन्तरता स्वरूप जीवित देवीका रूपमा पुजिँदै आएको भक्तपुर तलेजुको एकान्त कुमारीमा अहिले भक्तपुर नगरपालिका–११ स्थित क्वाछें टोलकी जीविका ब्रजाचार्य छिन् । कुमारीको लेखाजोखा अहिलेसम्मको नभए पनि यो परम्परा करिब ५ सय वर्षभन्दा पुरानो छ ।

हिन्दू कुलकी कुमारी छान्ने परम्परा लिच्छिवि कालदेखी चल्दै आए पनि बौद्धकुलको कुमारी छान्ने परम्परा नेपाल सम्वत् ६११ बाट सुरु भएको मानिन्छ । अहिलेकी कुमारी जीविका जीवचन्द्र र विमलाकी एक्ली छोरी हुन् । उनी ११ कात्तिक २०६७ मा जन्मिएकी हुन् । यसअघि २१ साउन २०७० मा तलेजुको कुमारीमा छनोट भएकी जुनिशा शाक्य गत १३ चैत २०७३ मा बेलविवाह गरिएपछि स्वतः अवकाश पाएर जीविका कुमारीमा छनोट भएकी हुन् ।

 कस्ता केटी कुमारी हुन योग्य हुन्छन् ?

 तलेजु कुमारीका लागि १० वर्ष नाघी ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रथा छ ।  भक्तपुर नगरपालिका वडा ३ नागपोखरीस्थित जुजुरत्न शाक्यकी छोरी जुनिशा ७ वर्ष हुँदा एकान्त कुमारीका लागि छनोट भएकी थिइन् । तलेजु कुमारीमा बज्राचार्य वा शाक्य वंशीय कन्या मात्र हुनुपर्ने परम्परा रही आएको छ ।

त्यस्तै कुमारी हुन कुनै घाउचोट नलागेको, कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग नभएको र कुमारी खोज्दा कुमारी बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीका लागि छनोट गरिने परम्परा रहेको छ ।

एकान्त कुमारीका सुसारे नाइकेले आवश्यक प्रक्रिया पूरा गरेपछि कुमारीका लागि योग्य कन्या छनोट गर्ने कार्य तलेजु मन्दिरका मूल नाइकेले गर्ने परम्परा रहेको छ । एकान्त कुमारी छनोट भएपछि दसैंको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्छ । अन्य बेलामा आफ्नै परिवारसँग बस्न पाउने र विद्यालय जान पाउने व्यवस्था गरिएको छ ।

३० वर्षभित्र कोको बने कुमारी ?

गुठी संस्थानले २०४१ सालबाट कुमारीलाई भक्ताको व्यवस्था गरेपछि भने कुमारीको रेर्कड राखिन थालिएको पाइएको छ । तलेजु भवानी मन्दिरका मूल नाइके नरेन्द्रराज जोशीका अनुसार २०४१ सालयता सबैभन्दा बढी समय सजनी शाक्याले (२०५६–२०६४) दस वर्ष कुमारीको जिम्मेवारी समालेकी थिइन् । त्यस्तै गीता बज्राचार्य (२०४०–२०४७), नीलम बज्राचार्य (२०५१–२०५६), पद्मुसमना शाक्य (२०४७–२०५०) सम्म कुमारीको जिम्मेवारी समालेकी थिइन् ।

कहिलेदेखि सुरु भयो कुमारी प्रथा ?

भक्तपुरमा कुमारी राख्ने प्रचलन लिच्छवि कालदेखि नै चल्दै आएको पाइन्छ । वृक्षदेवी, मनमानेश्वरदेवी र मात्रिकादेवी जस्ता कुमारीको प्रचलन रही आएकामा जसलाई जीवित देवीका रूपमा हिन्दू कुलका माक, राजभण्डारी, पक्वान, हाडाजस्ता कुमारीको प्रथा रही आएको देखिन्छ ।

‘नेपाल सम्वत् ६११ मा कान्तिपुरका राजा रत्नमल्लले पुख्यौली त्रिपुरदरबार (भक्तपुर) मा आफ्नो अधिकार रहेको देखाउन सर्वप्रथम बौद्ध कुलका कुमारीको प्रचलन ल्याएको इतिहास छ,’ संस्कृतिविद् ओभ धौभडेल बताउँछन् । जुन परम्पराअनुसार भक्तपुरमा शाक्य, ब्रजाचार्य कुलका कुमारीलाई राजकीय कुमारी मान्ने परम्परा रहेको हो । यहाँ दसंैमा हिन्दू कुलका माक, राजभण्डारी, हाडालगायत कुमारीलाई पनि पूजा गर्ने परम्परा अहिले पनि जीवित छ ।

तलेजु कुमारीमा शाक्य र ब्रजाचार्य कुलका छोरीबेटी नै किन ?

किंवदन्तीअनुसार एकपटक भक्तपुरका मल्ल राजासँग दिनहुँ पासा खेल्न देवी आउँथिन् । एक दिन दिनहुँ राजाको मनमा कुविचार पलाएछ । राजाले रूप नदेखाउने देवीको हात मात्र देख्दा पनि यत्ति राम्रो छ भने जीउडाल कस्तो छ भनेर पर्दा उघारेर हेर्न खोज्दा देवी रिसाइन् र राजाले अनयविनय गरेपछि देवीले त्यो रूप शाक्य, ब्रजाचार्य कुलको छोरीबेटीको इही अर्थात् बेलविवाह हेर्नु भन्ने भनाइका आधारमा शाक्य र ब्रजाचार्य कुलका छोरीबेटीमध्येबाट कुमारी छनोट गर्ने परम्परा रही आएको भनाइ रहेको संस्कृतिविद् धौभडेल बताउँछन् ।

कुमारीको काम के ?

क्वाथण्डौस्थित प्रसन्नशील महाविहारसँगै कुमारी आँगन घरमा दसैंभरि मात्र कुमारीलाई राख्ने छलन छ । अरू बेला कुमारी आफ्नै घरमा बस्ने, स्कुल जाने, मामाघरमा जाने र अरू बालिकासरह खेल्छन् । बडादसंैको घटस्थापनाअगाडिको आइतबार कि बिहीबार असल दिन हेरी कुमारी तलेजु मन्दिर जाने प्रचल छ । कुमारी सुसारे नाइके र नंकिछारा पूजाआजको व्यवस्था गरिन्छ ।