४० प्रतिशत जमिन बाँझै

रासस / भक्तपुर

पर्याप्त पानी नपर्दा भक्तपुरमा ४० प्रतिशत जमिन बाँझै रहेको छ । विगतका वर्षमा असारभित्र १ सय प्रतिशत रोपाइँ हुने भक्तपुरमा यस वर्ष पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको हो ।

खोला र कुलोबाट सिँचाइ पुग्ने ठाउँमा धान रोपाइँ सकिएर हरियो भएको छ भने कुलो नलाग्ने र आकासे पानीको भर पर्नुपर्ने खेत अझै पनि बाँझै छन् । पर्याप्त रोपाइँ हुन नसकेपछि धानको बीउ ब्याडमै मर्न थालेका छन् भने धानको बीउमै डाँठ पलाउन थालेपछि अब रोपाइँ नै नहुने पीडित किसानले बताएका छन् ।

नगरकोट नगरपालिका– ९ ताथली सौडोलका किसान सावित्रा बस्नेतले भने, ‘यस वर्ष पर्याप्त पानी नपर्दा सबै ठाउँमा रोपाइँ हुन सकेन । धानको बीउ पनि मरेका छन्, १५ साउन लागिसकेकाले अब धान रोपे पनि फल्दैन ।’

धानको बीउ ब्याडमै मरेका छन् भने रोपाइँ नभएका कतिपय ठाउँका बीउ कीराले खाएको र डाँठ पलाउन थालेकाले रोप्नै नहुने अवस्थामा पुगेको किसानको भनाइ छ । ताथलीकै अर्का किसान सानुभाइ गिरीले आफ्नो १० रोपनी जमिनमध्ये चार रोपनीमा मात्रै रोपाइँ भएको र ६ रोपनीमा अझै रोपाइँ हुन नसकेको दुखेसो गरे । उनले भने, ‘पानी नपरेकाले यस वर्ष राम्रो रोपाइँ हुन सकेन, रोपाइँ नभएका ठाउँमा धानको बीउमै डाँठ पलाएको छ, त्यस्तो बीउ रोप्नुको अर्थ छैन । अब खेत बाँझो नै रहने भयो ।’

सूर्यविनायक नगरपालिका– २ बालकोटमा रामलाल श्रेष्ठले पानी लाग्ने ठाउँका कतिपय खेतमा रोपाइँ भएर हरियाली छाएको छ भने सँगैका कतिपय ठाउँ बाँझै रहेको बताए ।

यो वर्ष समयमै धान रोपाइँ नभएकाले उत्पादनसमेत घट्नेमा किसानले चिन्ता गरेका छन् । चाँगुनारायण नगरपालिका– ३ दुवाकोटका प्रकाश श्रेष्ठले पानी नपरेका कारण १० दिनअगाडि रोपेको धान मर्न थालेको खेतमा धाजा फाट्न थालेको छ । पानी पर्नुपर्ने बेलामा दिनभर घाम लाग्ने भएपछि रोपेको धान समेत मरेकोे किसानको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका ताथली, सुडाल, सिपाडोल, गुण्डु, दधिकोट, कटुन्जे, बालकोट, सिरुटार, झौखेललगायतका क्षेत्रमा अझै रोपाइँ सकिएको छैन ।

कार्यालय प्रमुख पूर्ण ढुंगानाले जिल्लाका चारवटै नगरपालिकामा रोपाइँ बाँकी भएको बताउँदै पर्याप्त पानी नपरेकाले साउनको पन्ध्र भइसक्दा पनि रोपाइँ नसकिएको बताए ।

उनले कृषिको अनुगमनदेखि रोपाइँ हुननसकेका कृषकका लागि वैकल्पिक खेती गर्न प्रोत्सान गर्नुपर्ने भए पनि कृषिका कार्यक्रम, बजेटदेखि कर्मचारीसमेत नगरपालिकामा समायोजन भएकाले अब कृषकको समस्या पनि नगरपालिकाले नै हेर्नुपर्ने बताए ।