राष्ट्रिय वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवा

कालिकोट / रासस– रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । ग्रामीण क्षेत्रमा रहेको रास्कोट नगरपालिकाको आरसीपी बजारमा विगत लामो समयदेखि आईएमई रेमिट कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाले आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन भएको घोषणा संस्थाका अध्यक्ष तथा रास्कोट नगरपालिका प्रमुख काशिचन्द बरालले गरे ।

सक्षम नेपालको सहयोगमा आरसीपी बजारमा सुचारु भएको सेवामा रास्कोट क्षेत्रका समुदायमा बंैकको पहुँच पुगेको महसुस भएको छ । अबदेखि यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तादेखि अन्य रकम पठाउन र पाउन सहज हुने भएको छ ।

यो सेवा रास्कोटवासीका लागि ठूलो अवसरका रूपमा आएको बताउँदै नगरप्रमुख काशिचन्द्र बरालले क्रमिक रूपमा नगरपालिकामा थप वित्तीय सेवा सुविधा विस्तार गर्ने बताए । शाखारहित बैंकिङ सेवाको भने औपचारिक शुभारम्भ भने केही समयपछि हुने हिमचुली कृषि सहकारी संस्थाका प्रमुख जयचन्द्र अधिकारीले बताए । उनका अनुसार सेवाग्राहीका खाता तथा अन्य प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले सो प्रक्रियाबाट १ सयभन्दा बढीको खाता सुचारु भएपछि औपचारिकता दिइनेछ ।

कालीकोटमा यसअघि ग्लोबल आईएमईले खाँडाचक्र नगरपालिकोको भर्ता बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । हाल जिल्लामा चारवटा निजी बैंक, एउटा सरकारी बैंक र तीनवटा वित्तीय संस्था स्थापना भएका छन् । अहिले दुर्गम ग्रामीण इलाकामा हिमचुली कृषि सहकारी संस्था र साना किसान माइक्रोफाइनान्स संस्थाले मात्र वित्तीय सेवा सुरु गरेका हुन् ।