नेपाल टेलिकमको बोनस योजना

काठमाडौं / रास– नेपाल टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने योजना सार्वजनिक गरेको छ । नेपाल टेलिकमले जीएसएम÷सीडीएमए तथा एडीएसएल÷एफटीटीएच सेवाका ग्राहकका लागि प्रमोसनल अफर उपलब्ध गराउन भएको छ ।

त्यसैगरी विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिनेछ । यो अफर सोमबारदेखि लागू हुनेछ । यसको अवधि ९० दिन रहेको छ । यस अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ ।

अफरअन्तर्गत अब १ एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक १ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिले मासिक १ हजार १७ रुपैयाँमा २ सय ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाका लागि १ हजार ९ सय ८० रुपैयाँ शुल्क लिइएकामा अब १५ जीबी डाटा ३ सय रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको ५ सय र ४० जीबी डाटाको मूल्य ७ सय रुपैयाँ तोकिएको छ । यी डाटाको गति १ एमबीपीएससम्म हुन टेलिकमले जनाएको छ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क करबाहेक ५ सय रुपैयाँ भएकोमा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक ३ सय रुपैयाँ र अनलिमिटेड डाटाका लागि २ सय रुपैयाँ मात्र दर्ता शुल्क तोकिएको छ ।

अब पहिलेकै मूल्यमा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिनेछ । सो अनुरूप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत ३ महिनाका लागि २ सय ४० जीबी, ६ महिनाका लागि ५ सय जीबी र १२ महिनाका लागि १ हजार २ जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि १ हजार २ सय जीबी डाटा प्रयोग गर्न सकिनेछ । साथै विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिनेछ । जीएसएम÷सीडीएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्कभित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने पनि टेलिकमले जनाएको छ ।