तार हटाऊ

तार हटाऊ

काठमाडौं उपत्यकाका कतिपय सडकपेटीमा टाँगिएका टेलिफोन र निजी टेलिभिजनका तारले सहरको सौन्दर्यता गुमेको भन्दै तत्काल हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन नै दिनुपरेको छ । तार हटाऊ, बाटो बनाऊ, पुल बनाऊ वा सहर सफा राख भनेर अख्तियार नै बोल्नुपर्ने अवस्था दुःखद होे । मुलुककै पहिलो महानगरपालिकालाई स्वच्छ राख्नुपर्छ भन्नेमा कर्मचारी र जनप्रतिनिधि मात्रै होइन, आमसर्वसाधारण पनि सचेत हुनुपर्ने हो । निर्वाचित जनप्रतिनिधि महानगरपालिकाको सौन्दर्यता बढाउनभन्दा पनि आफ्नै भौतिक सुविधाका लागि ऐसआरामका सामग्री खरिदमा व्यस्त भएपछि अख्तियार बोल्न बाध्य भएको हो ।

काठमाडौंका कतिपय सडक यति कुरूप छन्, महानगर भन्न पनि लाज लाग्छ । सडक विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले वर्षाको बेला मध्य सडकमै सानो तालको आकार ग्रहण गरेको छ भने सडक विस्तारका क्रममा भत्काउनुपर्ने घरहरूको सबै भाग नभत्काइँदा पेटीमा हिँड्ने यात्रीले उस्तै सास्ती भोग्नुपरेको छ । बिजुलीको पोलमा झुन्डिएको तारको अवस्थाबारे लगभग सर्वसाधारण जानकार छन् । एउटै पोलमा सबैभन्दा माथि बिजुलीको तार हुन्छ भने अलि तल टेलिफोन र केवलको तार टाँगिएको छ । ती तार यति अव्यवस्थित छन् । कुनै कता चुँडिएर लत्रिएको हुन्छ र कुनै त्यही गुजुल्टो परेको देखिन्छ । अव्यवस्थित तार टँगाइले सहरको कुरूपता मात्रै बढाएको छैन । खानेपानी, पेट्रोल, डिजेलका ट्यांकर र स्कुल बसलाई पनि उत्तिकै सकस पु¥याएको छ । तिनै सवारीसाधनहरु गुड्दा कहिले टेलिफोनको तार चँुडिने त कहिले केबलको तार चुँडिने समस्या छँदै छ । कतिपय अवस्थामा बिजुलीको तार चुँडिएर मृत्यु भएको घटनासमेत सार्वजनिक भएको छ । यी सब घटना हुनुको मुख्य कारण अव्यवस्थित तार टँगाइ नै हो ।

विश्वका धेरै सहरमा टेलिफोन, बिजुली र केबलको तार जमिनमुनि बिछ्याइएको छ भने नेपालमा पनि काठमाडौंलगायत सबै सहरमा तार जमिनमुनि बिछ्याउनुको विकल्प छैन । काठमाडौं महानगरपालिकाबाटै यसको सुरुवात गर्नुपर्छ । मुलुकको पहिलो महानगरपालिकामै तार व्यवस्थापन गर्न सकिँदैन भने अन्य सहरमा किन भएन भनेर प्रश्न गर्ने नैतिक दायित्व नहुन सक्छ । अव्यवस्थित तारहरूले केवल सहरको सौन्दर्यता मात्रै गुमाएको छैन, दुर्घटनासमेत बढाएको छ । तसर्थ तत्काल तार जमिनमुनि बिछ्याउनुको विकल्प छैन । अहिले उपत्यकाका कतिपय सडक विस्तारको क्रममा रहेकाले अहिले नै तारलाई जमिनमुनि बिछ्याउने हो भने दोहोरो खर्च गर्नुपर्ने अवस्था आउँदैन । जहाँ सुविधासम्पन्न सडक बनिसकेको छ । ती स्थानमा पनि पाइप बिछ्याउने मात्रै ठाउँ खनेर तार व्यवस्थापन गर्र्ने हो भने धेरै भार पर्नेछैन । आशा गरौं, महँगा मोबाइल र विलासी सवारीसाधनमा ध्यान केन्द्रित गरेका काठमाडौंका जनप्रतिनिधिले यस विषयमा चासो राख्नेछन्, तार व्यवस्थापनलाई पनि  ध्यान दिनेछन् ।