अवार्डको विश्वसनीयतामा प्रश्न

नेपालमा फिल्मी अवार्ड कार्यक्रम बढ्दै जाँदा अवार्डको विश्वसनीयतामाथि प्रश्न उठाउनेहरू पनि बढ्दै गएका छन् । विभिन्न दर्जन बढी संघसंस्थाले विभिन्न आयोजक एवं प्रायोजकको सहकार्यमा फिल्मी अवार्ड प्रदान गर्दै आएका छन् । सामान्य त फिल्मी अवार्डले कलाकारलाई सम्मानित बनाउनुको साथै बजार विस्तारमा पनि भूमिका खेल्नुपर्छ । विश्वका कतिपय मुलुकमा अवार्ड पाएका फिल्मको व्यापार बढ्नुको साथै अवार्ड पाउने कलाकारको सामाजिक प्रतिष्ठा उचो हुने गरेको छ, अन्यको तुलनामा । नेपाली चलचित्र अवार्डले भने अझै त्यस किसिमको मर्यादा कायम गर्न सकेको छैन ।

चलचित्र विकास बोर्डले वर्षको एकपटक राष्ट्रिय चलचित्र अवार्ड प्रदान गर्छ भने अन्य निजी संघसंस्थाहरूले पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । हरेक अवार्ड आयोजकको आआफ्नै विधि छ । सबैले अवार्ड दिनुअघि जुरीद्वारा फिल्म हेराएर गुणस्तरको आधारमा विभिन्न विधामा अंक चढाउँछन् र जसले धेरै अंक पाउँछ उसले पुरस्कृत हुने अवसर पाउँछ । तर नेपालका कतिपय अवार्डका जुरीहरूले ‘हामीले गरेको निर्णयभन्दा फरक नतिजा आयो’ भनेर मुखैसमेत फोर्ने गरेका छन् । अर्को कुरा सबै फिल्म, अवार्ड पाउन लायक हुँदैनन् । बनेका मध्ये सीमित फिल्म मात्रै अवार्डको हकदार हुन्छ । अरू मुलुकको अवार्डको अवस्था हेर्ने हो भने लगभग सबै अवार्डमा तिनै फिल्मको बाहुल्य हुन्छ । मात्रै अवार्डको विधा फरक हुन्छ । दुःखको कुरा नेपालमा कतिपय अवस्थामा एउटा अवार्ड कार्यक्रममा पुरस्कृत फिल्म अर्को अवार्ड कार्यक्रममा मनोनयनमै पर्दैन । विदेशी दर्शकले रुचाएको फिल्मलाई त नेपाली अवार्ड आयोजकले पूरै बेवास्ता गर्ने परम्परा छ । यो वर्षकै कुरा गर्ने हो भने सेतो सूर्य र कालोपोथीले विश्वका प्रतिष्ठित अवार्ड कार्यक्रममा सहभागी हुनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा अवार्ड हात पार्न पनि सफल भए । ती फिल्मलाई नेपालका अवार्ड आयोजकमध्ये धेरैले रुचाएनन् ।

कुन फिल्मलाई अवार्ड दिने वा कुनलाई नदिने अवार्ड आयोजक र त्यसमा आबद्ध जुरीकै निर्णय सर्वोपरि हुन्छ । तर कस्तो फिल्मलाई अवार्ड दिँदा आम दर्शकसमेत सकारात्मक हुन्छन् भन्नेमा आयोजक र जुरीमा बस्नेहरू सचेत हुनै पर्छ । अवार्ड पाउनेले गर्वको साथ अवार्ड पाएको स्वीकार्न सकेन र नपाउनेले पनि धाँधली भएको तर्कपूर्ण कुरा ग¥यो भने अवार्डको अर्थ हुन्न । अर्को कुरा अहिलेको पुस्ता यति सचेत छ । सामाजिक सञ्जालमार्फत जसरी राम्रो कुराको प्रचार गर्न बेर लगाउँदैनन् खराब पक्षको उछितो काढ्न पनि खास समय लगाउँदैनन् ।यसको अर्थ अवार्ड गर्नै हुन्न भन्ने होइन । आगामी दिनमा अवार्ड आयोजक र जुरीमा बस्नेहरूले राम्रो र नराम्रो छुट्याउने बेलामा आर्थिक पाटोलाई बिर्सिए भने अवार्डको विश्वसनीयता मात्रै कायम हुँदैन, अवार्डको महŒवसमेत बढेर जानेछ ।