नेतृत्वको अधिनायकवादी प्रवृत्तिले अलग हुनुप¥यो

नेतृत्वको अधिनायकवादी प्रवृत्तिले अलग हुनुप¥यो

 

पञ्चायत, प्रजातन्त्र हुँदै मुलुक गणतन्त्रमा प्रवेश गर्दासमेत राजनीतिको चर्चामा रहिरहे, पशुपतिशमशेर राणा । तत्कालीन राजा र राजपरिवारसँग निकट मात्र होइन, पारिवारिक सम्बन्धका कारण पनि राजनीतिमा जम्दै आएका राणा सिन्धुपाल्चोक जिल्लाबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रँदै आएका छन् । उनले गणतन्त्र स्थापनापछिका पछिल्लाबाहेक कुनै पनि निर्वाचन हार्नुपरेन । राप्रपामा कहिले नेतृत्व र कहिले छाया नेतृत्व सम्हालेका राणाले पछिल्लोपटक कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट हुँदै नयाँ पार्टी गठन गरेका छन् । राजतन्त्र अन्त्य भइसकेपछि राजासहितको प्रजातन्त्रको एजेन्डा बोक्ने कमल थापासँगको लाइनमा राणा लामो समय टिक्न नसक्नु उनको व्यवस्थाअनुसार आफ्नो राजनीतिक करिअरलाई ढाल्न सक्ने खुबी पनि हो । जुट र फुटको निकै लामो शृंखला बोकेको पूर्वपञ्चहरूको पार्टीभित्र पटकपटक हुने फुटबारे यसपटक उनले मुख खोलेका छन् । फुटका कारणबारे राजधानीकर्मी महेश्वर गौतमले उनीसँग गरेको कुराकानी :


पशुपतिशमशेर राणा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

एकीकरण भएको एक वर्ष नहुँदै पार्टी फुटाउनुभयो, त्यस्तो बाध्यता के आइप¥यो ?

पार्टी ठीक रूपमा अघि बढेको छ कि छैन भन्ने हेर्ने समय नै निर्वाचन हो । निर्वाचनमा जनताबीचको परीक्षण हामीले हेर्नुपर्छ । हाम्रो एकतापछि तत्कालै स्थानीय तहको निर्वाचन आयो तर परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन । पार्टी निर्वाचनमा सही रूपमा परिचालन हुन नसकेको यसबाटै प्रमाणित हुन्छ । जनताको विश्वास पार्टीको मूल नेतृत्वले गुमायो । फेरि प्रदेश र संसद्को चुनाव आउँदै छ । केही निर्णय अहिले नै गरेर पार्टीलाई आगामी निर्वाचनमा जोगाउनुपर्छ भनेर हामी यो निर्णयमा पुगेका हौं ।

पार्टी एक भएपछि तपाईंहरूले राखेको एजेन्डामै नेतृत्वले असहमति जनाउँदै आएको भनिन्छ नि ?

त्यस्तो एजेन्डामा नै असहमति भन्ने त होइन । तर हामीले मधेसका समस्या समाधान गर्नेगरी संविधान संशोधनमा सहयोग गर्नुपर्छ भन्ने पार्टी एकता हुनु अघिदेखिकै लाइन थियो । हामीले विगतदेखि नै मधेसका मुद्दालाई चर्को रूपमा उठाएका थियौं । पार्टी एक भएपछि त्यो मुद्दा कताकता हराउँदै गयो । हाम्रो असहमति त्यसैमा थियो । संविधानको मूलधारमा सबैलाई समेट्नुपर्छ भन्ने हाम्रो धारणा हो । नेतृत्वले त्यसमा कहिल्यै पनि अडान लिन सकेन ।

केन्द्रीय समिति बैठक नै बहिष्कार गर्नुभयो यहाँले, असहमतिकै कारण होइन ?

हो । प्रस्ट कारण छ नि । ४२ जना केन्द्रीय सदस्य मनोनयन गर्दा नेतृत्व मनोमानी ढंगबाट अघि बढ्यो । मसँग सरसल्लाह नै भएन । पार्टी एक हुँदा नै महŒवपूर्ण विषयहरूमा सहमति गरेर निर्णय लिने आधारभूत सम्झौता भएको थियो । म, लोकेन्द्रबहादुरजी र कमलजी बसेर मात्रै निर्णय लिने भन्ने सहमति थियो । त्यसलाई नेतृत्वमा आइसकेपछि अध्यक्षले लत्याउने काम गर्नुभयो । त्यसपछि मैले बैठकमा अनुपस्थित भएर चर्को असहमति जनाएकै हो ।

यो बीचमा यीबाहेक अन्य केके विषयमा असहमति रह्यो ?

पार्टी सञ्चालनको विधि र पद्धतिका विषयमा पटक्कै सरसल्लाह गर्ने काम भएन । अधिनायकवादी प्रवृत्ति देखियो । निर्वाचनमा सही तरिकाबाट पार्टीलाई सञ्चालन गर्न नेतृत्वले सक्दै सकेन । कैयौं स्थानमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आयो । यसैले पार्टीले लज्जाजनक हार बेहोर्नुप¥यो । जसको परिणाम धेरै स्थानबाट धेरै गुनासा आए । नेतृत्व असफल भएपछि असहमतिले सीमा नै नाघ्यो ।

दक्षिणको शक्ति र सरकारले पार्टी फुटाउन तपाईंलाई उक्साएको आरोप छ नि ?

त्यो बिलकुलै होइन । कुनै शक्तिको प्रभावले राप्रपा फुटेको होइन । पार्टीभित्रको व्यापक मागलाई हामीले सम्बोधन गरेका हौं । हामीले मुलुकबाहिर हेरेकै छैनौं । न त सरकारले नै जुट र फुट भनेर भनेको छ । मुलुकको आवश्यकता र पार्टीमा सम्बद्ध साथीहरूको भावनालाई सम्बोधन गर्न हामी अलग्गै पहिचान लिएर उभिने निर्णयमा पुगेका हौं । यस्ता आधारहीन आरोपको पछि कोही पनि लाग्नुहुन्न । वास्तविकता एक दिन सतहमै अवश्य आउँछ ।

संविधानको मूलधारमा सबैलाई समेट्नुपर्छ भन्ने हाम्रो धारणा हो, नेतृत्वले त्यसमा कहिल्यै पनि अडान लिन सकेन ।

मुलुकको आवश्यकता र पार्टीमा सम्बद्ध साथीहरूको भावनालाई सम्बोधन गर्न हामी अलग्गै उभिने निर्णयमा पुगेका हौं ।

केन्द्रीय सदस्य मनोनयन गर्दा नेतृत्व मनोमानी ढंगबाट अघि बढ्यो, संयुक्त रूपमा निर्णय लिने सहमतिलाई लत्याउने काम भयो ।

पार्टी सञ्चालनको विधि र पद्धतिका विषयमा पटक्कै सरसल्लाह गर्ने काम भएन, अधिनायकवादी प्रवृत्ति देखियो ।

सरकारमा जाने या नजाने गौण कुरा हो तर मधेसलाई सम्बोधन गर्नका लागि भने संविधान संशोधन आवश्यक छ ।

यहाँहरूले विगतदेखि नै राप्रपालाई प्रजातान्त्रिक धारको पार्टी भन्ने गर्नुभएको छ । अबको लाइन के हुन्छ ?

राप्रपा यहाँले भनेजस्तै सुरुदेखि नै प्रजातन्त्रको धारमा उभिँदै आएको छ । अहिलेको हाम्रो कदमको उद्देश्य पनि प्रजातन्त्रलाई टेवा पु¥याएर प्रजातन्त्रको संवद्र्धनमा रहने नै हो । त्यसका साथै अन्य प्रजातान्त्रिक शक्तिहरूबीच एउटा मोर्चा बनाएर बृहत् प्रजातान्त्रिक एकता गर्न अघि बढ्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ । यो मुलुकमा प्रजातान्त्रिक धार सुरक्षित हुनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यसका लागि अब राप्रपा प्रजातान्त्रिक धारमा अघि बढ्छ ।

यहाँहरूलाई त सत्तामा जानका लागि पार्टी फुटाएको आरोप आइरहेको छ नि ?

हामी प्रजातान्त्रिक धारलाई बलियो बनाउनुपर्छ भन्ने अभियानमा छौं । त्यसको अर्थ प्रजातान्त्रिक शक्तिहरू एक ठाउँ आउनुपर्छ भन्ने हो । सरकारमा जाने या नजाने गौण कुरा हो । आरोप त जसले जे पनि लगाउन सक्छन् तर आरोप लगाउँदैमा प्रमाणित भइहाल्छ भन्ने पनि होइन ।

सरकारलाई अब यहाँको पार्टीको समर्थन हुन्छ वा हुँदैन र संविधान संशोधनबारे के निर्णय गर्नुहुन्छ ?

हामीले सरकारलाई समर्थन जनाइसकेका छौं । यो सरकारलाई हाम्रो पार्टीको समर्थन रहन्छ । संविधान संशोधनका विषयमा पार्टीभित्र छलफल भइसकेको छैन । हामी त्यसबारे पार्टीको बैठक बसेर मात्रै आधिकारिक धारणा बाहिर ल्याउनेछौं ।

संविधान कार्यान्वयन र मधेसका माग सम्बोधन गर्नका लागि पनि त संशोधन आवश्यक होला नि हैन ?

संविधान कार्यान्वयनका लागि सबैभन्दा महŒवपूर्ण कुरा संविधानअनुसार सबै तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ । अहिलेको संविधानको प्रकृतिले कुनै एउटा पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिएको छैन । नेपाली राजनीतिमा गठबन्धनको आवश्यकता छ । बहुमत नहुँदा गठबन्धनले पनि सरकारलाई केही समय अघि बढाउँछ । एउटा सरकार चार पाँच वर्षसम्म टिक्ने अवस्था हुनुपर्छ । अनि मात्र मुलुक स्थिरतातर्फ अघि बढ्छ । संशोधनका विषयमा जटिलता पनि छ । संशोधन पारित गर्न दुई तिहाइ चाहिन्छ । त्यसका लागि सरल अवस्था छैन । किनभने संशोधनको पक्षमा अहिलेको समीकरणमा दुई तिहाइ पु¥याउन सजिलो छैन । झुकाव भएर मात्रै पुग्दैन । तर मधेसका माग सम्बोधन गरेर अघि बढ्नैपर्छ, त्यसमा कुनै सन्देह नै छैन ।

पार्टी एकता घोषणासभामा नै हलो चुनाव चिह्न हुनुपर्छ भन्नुभयो यहाँले, स्थानीय तहको निर्वाचनमा चुनाव चिह्नले पनि असर परेको हो ?

वास्तवमा नै हो र हामीले पार्टी एकता घोषणाअघि नै चुनाव चिह्न हलो रहनुपर्छ भन्ने कुरा राख्दै आएका हौं । तर पार्टी एकता घोषणासभापछि महाधिवेशनले त्यसबारे निर्णय नै गर्न सकेन । पछि बसेको केन्द्रीय समितिको बहुमतले गाईलाई चुनाव चिह्न राख्ने निर्णय लियो । त्यसको असर प्रस्ट रूपमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा देखिएको हो ।

कहिले सरकारमा जाने, कहिले छाड्ने गर्दा पनि त जनताप्रतिको विश्वास गुमेको होला नि ?

हाम्रो पार्टीको मूल मुद्दा राजसंस्था र हिन्दूराष्ट्रको विषय संविधानसँग बाझिएको भन्दै विधानबाटै निर्वाचन आयोगले हटाएपछि सरकार छाडौं भनेका थियौं, जतिबेला हामीमाथि सरकारमा रहेकै बेला आक्रमण भएको थियो । तर त्यसबखत नेतृत्वले नै सरकारबाट बाहिरिने निर्णय लिन सकेन । पछि सरकारले स्थानीय तहको निर्वाचन मुखैमा आइसकेपछि प्रधानन्यायाधीशमाथि अविश्वासको प्रस्ताव ल्याउने काम ग¥यो । त्यस प्रकरणमा हाम्रो सहमति थिएन र सरकार छाड्यौं । त्यसरी निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि अचानक सरकार छाड्नुपर्दा हामीलाई असर परेकै हो ।

प्रहरी महानिरीक्षकदेखि प्रधानन्यायाधीशसम्मका निर्णयचाहिँ ठीक थिए ?

ती दुईटै विषयमा लिइएको निर्णय बिलकुलै उचित थिएनन् । सरकारले त्यसबखत निर्णय गर्दा पनि हामीसँग सरसल्लाह गरेको थिएन । त्यसकारण पनि त्यस विषयमा हाम्रो समर्थन थिएन । हामीले प्रस्ट रूपमा त्यससम्बन्धी असहमति जनाएका थियौं ।

अब अलग शक्तिका रूपमा दल दर्ताको प्रक्रियामा हुनुहुन्छ । प्रदेश र संसद्को निर्वाचनमा कसरी अघि बढ्नुहुन्छ ?

प्रदेश र संसद्को निर्वाचनमा यसरी नै जाने भन्ने तय भइसकेको छैन । बृहत् शक्तिको तयारीसहित संविधानको स्थायित्व सिर्जना गर्न हामी लागेका छौं ।

अलगै रहनुभएका लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीसँग अब राजनीतिक यात्रासँगै गर्ने सम्भावना छ कि छैन ?

लोकेन्द्र जी र प्रकाशजीलाई हामीले सँगै आउन आग्रह गरिसकेका छौं । मैले पत्रकार सम्मेलनमार्फत पनि पूर्वराप्रपाका सबै धार र शक्तिलाई मूल प्रवाहमा रहेको राप्रपामा आउन अपिलसहित आग्रह गरेको छु । मलाई विश्वास छ, उहाँहरू सबै राप्रपाको मूल  धारमा आउनुहुनेछ ।

डा. गोविन्द केसी लामो समयदेखि अनशनमा हुनुहुन्छ । यहाँले कसरी लिनुभएको छ ?

डा. केसीका माग जायज छन् । संसद्मा रहेका केही सांसदको स्वार्थसँग त्यो माग बाझेको छ । सरकारले जायज माग पूरा गर्नुपर्छ । सांसद्का व्यक्तिगत स्वार्थमा सरकार फस्नुहुन्न । सबै दलहरू पनि त्यसमा जिम्मेवार रहनुपर्छ ।