कांग्रेसबाहेकसँग एमाले तालमेल

सुभाष साह / काठमाडौं

प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश २ को स्थानीय तह निर्वाचनमा केन्द्रीय नेतृत्व परिचालन गर्ने निर्णय गरेको छ ।  एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन केन्द्रीय पदाधिकारीसहितको नेतृत्व परिचालन गर्ने निर्णय गरेको हो ।

एमालेले यसअघि आठवटै जिल्लामा पदाधिकारी नै खटाएर त्यहाँको अवस्था बुझेको थियो । सो टोलीले बैठकमा जिल्लाको अवस्थाबारे बिफ्रिङसमेत गरेका थिए । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेश २ मा एमालेको पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको र पार्टी अन्य प्रदेश जस्तै २ मा पनि पहिलो शक्ति बन्ने सुनिश्चित भएको बताए । पार्टीका उम्मेदवारलाई जिताउन पदाधिकारीसहितको नेतृत्व परिचालन गरिने उनले बताए । त्यसको विषयमा पार्टीले चाँडै कार्यतालिका र जिम्मेवारी समेत छलफल गरेर सार्वजनिक गर्ने बताए ।

‘विभिन्न जिल्लामा खट्नुभएका पदाधिकारी कमरेडले प्रदेश २ को जिल्लागत रिपोर्टिङ प्रस्तुत गर्नुभएको छ,’ भट्टराईले राजधानीसँग भने, ‘जिल्लागत रिपोर्टअनुसार एमाले अन्य प्रदेशझैं २ मा पनि पहिलो शक्ति बन्ने सुनिश्चित भएको छ ।’ एमाले पदाधिकारी एक साताअघि प्रदेश २ का आठवटै जिल्लामा पुगेका थिए । उनीहरूले जिल्लाको बैठक, भेला, छलफल, अन्तत्र्रिmया गरी जिल्लागत रूपमा विविध अवस्थाबारे रिपोर्ट तयार गरी सचिवालय बैठकमा प्रस्तुत गरेका हुन् ।

प्रदेश २ स्थानीय तह निर्वाचन

एक साताअघि केन्द्रीय पदाधिकारीकै नेतृत्व केन्द्रीय टोली जिल्लाजिल्लामा पुगेर जिल्लाहरूको वस्तुस्थिति बुझेर काठमाडौं फर्केको छ । पर्सामा महासचिव ईश्वर पोखरेल, बारामा उपमहासचिव विष्णु पौडेल, रौतहटमा उपमहासचिव घनश्याम भुषाल, सर्लाहीमा सचिव गोकर्ण विष्ट नेतृत्वको टोली पुगेको थियो ।

यसैगरी महोत्तरीमा सचिव पृथ्वीसुब्बा गुरुङ, धनुषामा सचिव योगेश भट्टराई, सिराहामा सचिव प्रदिप ज्ञवाली र सप्तरीमा सचिव भीम आचार्य नेतृत्वको केन्द्रीय टोली पुगेको थियो । टोलीले जिल्लाको बैठक, भेला, छलफल, अन्तत्र्रिmयामा सहभागी भएर जिल्लाको रिपोर्ट तयार गरी केन्द्रीय सचिवालय बैठकमा प्रस्तुत गरेको हो ।

‘प्रदेश २ मा खट्नुभएका पार्टीका केन्द्रीय पदाधिकारीहरूको रिपोर्ट अनुसार उक्त प्रदेशमा एमालेका पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, पार्टीपंक्ति उत्साहजनक ढंगले परिचालित भएको, एमालेमा प्रवेशको माहोल सिर्जना भएको, भेला, बैठक, छलफल, अन्तक्र्रियालगायत गतिविधि तीव्र ढंगले अगाडि बढिरहेकाले एमालेको विजयका निम्ति पार्टीपंक्ति एकताबद्ध भएर संकल्प गरिरहेको अवस्था रहेको छ,’ भट्टराईले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

६५ प्रतिशत तह एक्लै जित्ने दाबी केन्द्रीय नेतृत्व परिचालन गर्ने

जिल्लाहरूको रिपोर्टिङपछि एमाले केन्द्रीय सचिवालयले प्रत्येक जिल्लामा केन्द्रीय नेतृत्व नै परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय पदाधिकारीसहित खट्ने टोलीमा केन्द्रीय सदस्य, सांसद, अन्य प्रदेशमा निर्वाचित स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेताहरूलाई ठोस जिम्मेवारीका साथ खटाउने केन्द्रीय सचिवालय बैठकको निर्णय छ ।

प्रदेश २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ता र सदस्यहरूलाई उच्च मनोबल तथा आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै बैठकले पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रूपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न निर्देशन दिएको छ ।

एमालेले प्रदेश २ को ६५ प्रतिशत स्थानीय तहमा एक्लै प्रमुख, उपप्रमुख जित्न सक्ने जनाएको छ । एमाले केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जिल्ला पुगेका नेताहरूको रिपोर्ट अनुसार विभिन्न जिल्लामा स्थानीय स्तरमा रहेका आन्तरिक द्वन्द्वको न्यूनीकरण गर्नुपर्ने आवश्यकताको विषयमा समेत बैठकमा छलफल भएको बताए ।

६५ प्रतिशत स्थानीय तहमा एमाले एक्लै जित्ने र बाँकी ठाउँमा कांग्रेसबाहेक अरू पार्टीसँग तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने एमालेको तयारी छ । केही ठाउँमा कांग्रेसबाहेक अन्य दलसँग तालमेल गरेर निर्वाचन लड्ने विषयमा बैठकमा छलफल भएको श्रेष्ठले बताए ।