एमाले नेपाली राजनीतिको मूल प्रवाह

काठमाडौं  / रास– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिस्ट पार्टी मात्रै नभई नेपाली राजनीतिकको मूलप्रवाह भएको बताएका छन् । एमालेले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रियता एवं आर्थिक समृद्धिका सवालमा एमालेको नीति प्रस्ट भएको बताए ।

कार्यक्रममा कांग्रेस, माओवादी, मधेसकेन्द्रित विभिन्न दलका स्थानीय नेताहरू एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई ओलीले पार्टीमा स्वागत गर्दै देशको राष्ट्रियता एवं आर्थिक समृद्धिका योजना पूरा गर्ने अभियानमा जुट्न आह्वानसमेत गरेका छन् ।

२०३२ सालदेखि माओवादीको पूर्ववर्ती समूह नेकपा चौमको नेता रहेका गणेश अधिकारीले एमालेको राजनीतिक दृष्टिकोण, विकासको योजना, राष्ट्रिय एकता र अखण्डताको अडानबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताए ।

‘एमालेलाई पछौटेपन स्वीकार्य छैन, सुखी नेपाली समृद्ध नेपाल हाम्रो उदेश्य हो’ ओलीले भने, ‘हाम्रो उदेश्य समृद्धिको भए पनि साना एवं क्षणिक लाभमा अल्झिएर हाम्रो लक्ष्यविरुद्ध लागेका छन् ।’

एमाले आर्थिक समृद्धिका लागि देशमा उद्योग कलकरखाना स्थापना एवं रोजगारी सृजना गर्नेतर्फ लागेको बताउँदै उनले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरूले उद्योग बन्द गराउँदै आर्थिक अवस्था नै ठप्प पार्ने काममा लागेको बताए ।