नयाँ शक्ति विभाजनको सँघारमा

 पौडेल प्रमुख रहेको संगठन विभागमा श्रेष्ठ

 पौडेलसहित १५ शीर्ष नेताद्वारा बाबुरामलाई सीमित घेराको नेता बनाउन नसकिने चेतावनी

राजधानी समाचारदाता / काठमाडौं

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल विभाजनको सँघारमा पुगेको छ । वरिष्ठ नेता देवेन्द्र पौडेलसहित १५ जना मुख्य नेताले बिहीबार पत्रकार सम्मेलन गरेर संयोजक भट्टराईलाई नेता मान्न तयार रहे पनि सीमित घेराको नेता बनाउन नसकिने जनाउँदै सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि नयाँ शक्ति फुट नजिक पुगेको हो ।

‘उहाँ बढी एकेडेमिक साथीहरूको प्रभावमा पर्नुभएको छ । उहाँ सीमित व्यक्तिको घेराबन्दीमा पर्नुभएको छ,’ नेता पौडेलले भने, ‘हामी बाबुराम भट्टराईलाई नेता बनाउन चाहन्छौं । तर यसरी सीमित घेरामा बसेर हुँदैन ।’

संयोजक भट्टराईले बिहीबार बिहान मात्र नेता पौडेललाई  बोलाएर मिडियामा तपाईंहरू माओवादी केन्द्रमा फर्कन लागेको भनेर प्रचार भइरहँदा मौन बसेको भन्दै आलोचना गरेका थिए । त्यसलगत्तै पौडेलसहितका नेताले मध्याह्न पत्रकार सम्मेलन गरेर आफूहरूले पार्टी छाड्न लागेको नभएर पार्टीभित्र नयाँ बहस गर्न खोजेको भनेर बचाउ गरेका थिए ।

तर, संयोजक भट्टराईले पौडेललगायत नेताहरू माओवादी केन्द्रमा फर्कन लागेको भन्दै संगठन विभाग प्रमुख रहेका पौडेलको ठाउँमा गंगा श्रेष्ठलाई अनौपचारिक जिम्मा दिइसकेको नयाँ शक्ति स्रोत बताउँछ ।

पत्रकार सम्मेलनमा नेता पौडेलले पार्टी छाड्न नलागेको बताए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मोहन वैद्य किरणसहितका नेतालाई पार्टी एकताको पहल गर्न आग्रह गरेका छन् ।

‘परिवर्तनकारी शक्ति माओवादी घटकहरू, मधेसवादी दलहरू, आदिवासी जनजाति पहिचानवादीहरू र वर्गका पक्षधरहरू सबैको संयुक्त मोर्चा या ध्रुवीकरणहितको पार्टी एकता अहिलेको आवश्यकता देखा परेको छ, यसको भूमिका निर्वाचन गर्न क. प्रचण्ड, क. किरण, डा. बाबुराम भट्टराई, मधेसवादी दलबाट उपेन्द्र यावदलगायतको आदिवासी र जनजाति नेताहरू जो अग्रगमनको पक्षधरहरूलाई हामी अपिल गर्दछौं,’ संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘परिवर्तनकारी शक्ति माओवादी घटकहरू, मधेसवादी दलहरू, आदिवासी जनजाति पहिचानवादीहरू र वर्गका पक्षधरहरू सबैको संयुक्त मोर्चा या ध्रुवीधकरणहितको पार्टी एकता अहिलेको आवश्यकता देखा परेको छ’

नयाँ शक्तिका संयोजक भट्टराईले लिएको सिद्धान्त र लाइनप्रति असन्तुष्टि जनाएका उनीहरूले पार्टीभित्र माओवादी भनेर हेपिएको समेत विज्ञप्तिमा पटक पटक उल्लेख छन् । ‘हामीले संघर्षबिना शक्ति प्राप्त गर्न सकिँदैन । संघर्षबिना संगठन पनि विस्तार हुँदैन । चुनावी तालमेल गर्नु हुँदैन, मुख्यतः माओवादीसित गर्नु हुँदैन भन्ने देखियो,’ विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिल समेत जारी गरिएको छ ।

पौडेलले पार्टीले तयार गरेको दस्तावेज र पार्टीले लिएको लाइन अमूर्त भएको आरोप लगाउँदै मात्र समृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र नहुने भन्दै कसको लागि समृद्धि, कस्तो समृद्धि हो, त्यो कुरा स्पष्ट पार्नुपर्ने बताएका छन् । पौडेलले पार्टी श्रमजीवी र उत्पीडित वर्गको हितमा हुनुपर्नेमा भट्टराईको दस्तावेजले पार्टी एनजीओ जस्तो भएको आरोपसमेत लगाएका छन् ।

भट्टराईको आलोचना गर्दै ध्रुवीकरणका लगि जुट्न अपिल गर्ने नेताहरूमा पौडेलसहित महेन्द्र पासवान, वामदेव क्षत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, हिसिला श्रीपाली, बलावती शर्मा, तिलक थापालगायत रहेका छन् । तत्कालीन एकीकृत नेकपा माओवादीबाट विभाजनपछि डा. भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।