एफटीए सम्झौता हुने

विधुर ढकाल  / काठमाडौं

सदस्य राष्ट्रहरूबीच छिट्टै खुला व्यापार क्षेत्र (एफटीए) समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गर्दै बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगस्का लागि बंगालको खाडीको प्रयासको परराष्ट्र, विदेश तथा बाह्य मामिलासम्बन्धी मन्त्रीस्तरीय बैठकले ग्रिड इन्टरकनेक्सनको समझदारी पत्रमा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले बिम्स्टेकअन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था र आगामी दिनमा गर्ने कार्यहरूको प्रतिबद्धतासहितको संयुक्त वक्तव्यसमेत पारित गरेको छ । बैठकले सदस्य राष्ट्रहरूबीच प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई याथशीघ्र अन्तिम रूप दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले गत १६ अक्टोबर २०१६ भारतको गोवामा सम्पन्न भएको बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखहरूको रिट्रिट बैठकका निर्णय र सोही समयमा पारित भएको १६ बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिहरूको समीक्षा गर्दै ती निर्णयको तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

‘बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहनलगायत सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री महराले भने, ‘त्यस्तै आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने, गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।’

बैठकले बिम्स्टेकको कामलाई थप प्रभावकारी बनाउन बिम्स्टेक ऊर्जा केन्द्र, बिम्स्टेक वातावरण केन्द्र र बिम्स्टेक संस्कृति केन्द्रलाई यथाशीघ्र स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

प्रबुद्ध समूह बन्ने

बिम्स्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न प्रबुद्ध समूह (ईपीजी) गठन गर्ने निर्णय पनि भएको नेपालका तर्फबाट बैठकमा नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री महराले जानकारी दिए । बिम्स्टेक सदस्यराष्ट्रहरूबीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहनलगायत सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिनेसमेत बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

‘आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने निर्णय भएको छ,’ उपप्रधानमन्त्री महराले भने, ‘सन् २०१२ मा काठमाडौंमा सम्पन्न भएको बिम्स्टेक सदस्य राष्ट्रहरूका गरिबी निवारण मन्त्रिस्तरीय बैठकले पारित गरेको गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ ।’

बिम्स्टेक बैठक

शुक्रबार सम्पन्न मन्त्रिस्तरीय बैठकले बिम्स्टेकको उच्च अधिकारीहरूको १७औं तथा १८औं बैठकको प्रतिवेदनहरूलाई समेत अनुमोदन गरेको उनले जानकारी दिए । बैठकमा नेपालले बिम्स्टेकका ऊर्जामन्त्री स्तरीय तेस्रो बैठक सन् २०१८ को सुरुमा गर्ने प्रस्ताव गरेको थियो । सोही बैठकसम्म बिम्स्टेक ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारी पत्रको तयारी सम्पन्न गर्ने र सोही बैठकमा हस्ताक्षर गर्ने गरी तयारी गर्ने निर्णय भएको बताइएको छ ।

चौथो शिखर सम्मेलनको मिति तय हुन सकेन

काठमाडौंमा सम्पन्न १५औं मन्त्रीस्तरीय बैठकले यसै वर्ष हुने भनिएको चौथो शिखर सम्मेलनको मिति तय गर्न भने सकेन । गत वर्ष गोवामा सम्पन्न सरकार तथा राष्ट्रप्रमुखको बैठकमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले बिम्स्टेकको शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका थिए । सोहीअनुरूप नेपालले बैठकका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेटमा समेत यसका लागि बजेट छुट्याएको छ । ‘बैठकमा नेपालले सम्मेलन आयोजना गर्ने विषयमा छलफल भयो, हाम्रो तर्फबाट निर्वाचनपछि उचित समयमा सम्मेलन गर्ने प्रस्ताव राख्यौं,’ उपप्रधान तथा परराष्ट्रमन्त्री महराले भने, ‘सबै सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्नुभयो ।’

निर्वाचन सम्पन्न भएपछि नेपालले सबै सदस्य राष्ट्रहरूसमक्ष सम्मेलनको मिति प्रस्ताव गर्ने र आपसी छलफल पछि मिति तय गर्ने उनले बताए । ७ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । सोहीअनुरूप नेपाल निर्वाचनमा जुटिरहेको छ । ‘निर्वाचनअगाडि सम्मेलन गर्ने सम्भावना छैन, निर्वाचनपछि सम्मेलन हुन्छ,’ उनले भने ।

महासचिवमा इस्लाम

बैठकले बिम्स्टेकको महासचिवमा बंगलादेशका सहिदुल इस्लामलाई नियुक्त गर्ने निर्णय गरेको छ । वर्तमान महासचिव सुमिथ नाकन्दालाको कार्यकाल सकिँदै गर्दा बिम्स्टेकको महासचिवमा इस्लामलाई नियुक्त गर्न निर्णय भएको हो ।

उनलाई महासचिवमा नियुक्त गर्ने विषयमा बिहीबार बसेको १८औं उच्च अधिकारीहरूको बैठकले अनुमोदनका लागि सिफारिस गरेको थियो ।

बैठकमा बिम्स्टेक सदस्यराष्ट्रहरू नेपालसहित बंगलादेश, भुटान, भारत, श्रीलंकाका म्यानमार र थाइल्यान्डका विदेश तथा परराष्ट्रमन्त्री, राज्यमन्त्रीहरू सहभागी थिए । बैठकमा बंगलादेशले यसै वर्ष जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गर्ने प्रस्ताव गरेको छ । बैठकले सो प्रस्तावको स्वागतसमेत गरको छ । त्यस्तै, बिम्स्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नेसमेत प्रतिबद्ध जनाएको छ ।

त्यस्तै जिपमर इन्डियाले बिम्स्टेक सदस्य राष्ट्रबीच स्वास्थ्य क्षेत्रमा साझेदारी बढाउन सुरु गरेको टेली मेडिसिन नेटवर्कको बैठकले स्वागत गरेको छ । बैठकले यस क्षेत्रको सञ्चार तथा यातायात क्षेत्रको सबलीकरणका बिम्स्टेक मोटर भेइकल एग्रिमेन्टको फ्रेमवर्क समझदारी पत्रलाई कार्यान्वयनमा ल्याउने विषयमा समेत जोड दिएको छ ।

बैठकमा बिम्स्टेक बुद्धिस्ट टुरिस्ट सर्किट र टेम्पल टुरिस्ट सर्किट निर्माणसम्बन्धी रिट्रट बैठकको निर्णयलाई कार्यान्वयनका लागि प्रबुद्ध व्यक्तिको तदर्थ समिति बनाउनसमेत सहमति भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा तेस्रो बिम्स्टेक पर्यटनमन्त्रीहरूको गोलमेच सम्मेलन आयोजना गर्ने बंगलादेशको प्रस्तावको स्वागत गरेको छ ।