प्रदेश २ स्थानीय तह निर्वाचन , राजपा सहभागी हुने

सुभाष साह / काठमाडौं

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ ।परिवर्तित परिस्थिति भन्दै राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्रीसहित सत्तारूढ दल र राजपाका नेताहरूबीच शुक्रबार भएको बैठकमा राजपाले निर्वाचनमा जाने बताएको हो ।

राजपाले निर्वाचन सम्पन्न हुन बाँकी स्थानीय तहमा तहको संख्या र सीमा परिवर्तन गर्न मिल्ने गरी गरेको फैसला र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको छलफलपछि राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीका अनुसार निर्वाचनसँगै राजपा सरकारमा समेत सहभागी हँुदै छ । दलहरूबीच संविधान संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ पेस गर्ने सहमति भएकाले संसद्बाट आउने परिणामलाई स्वीकार गर्दै राजपा निर्वाचनमा सहभागी हुन तयार भएको हो ।

‘संविधान संशोधन विधेयक निर्णयार्थ संसद्मा प्रस्तुत गर्ने सत्तारूढ दलसँग सहमति भएको छ, हामी आउने परिणामलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी हुन्छौं,’ भण्डारीले भने, ‘फेल गराउने पार्टीलाई जनताले सजाय गर्छन्, त्यसैले हामी जनताका बीचमा जानुपर्छ ।’

पार्टीको पदाधिकारी बैठक र केन्द्रीय समितिको बैठकमा निर्वाचनमा सहभागी हुनुपर्ने व्यापक दबाबपछि राजपा नेता निर्वाचनमा सहभागी हुन तयार भएको राजपाकै नेता बताउँछन् । निर्वाचनमा सहभागी हुन चौतर्फी दबाब परेपछि संशोधन फेल भए पनि त्यसलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुने निष्कर्षमा राजपा नेता पुगेका हुन् ।

राजपा पदाधिकारी बैठक र केन्द्रीय समितिमा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने मत बाझिएपछि त्यसको निर्णय गर्न अध्यक्ष मण्डललाई दिएको थियो । तर अध्यक्ष मण्डलले यस विषयमा पार्टीको आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।

अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादव र भण्डारीले संसद्को परिमाण स्वीकार गर्दै निर्वाचनमा जानुपर्ने पक्षमा उभिँदै आएका हुन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव यसअघि संशोधन विधेयक पारित नभई निर्वाचनमा सहभागी नहुने अडानमा थिए ।

पछिल्लो समयमा भएको राजनीतिक परिवर्तनले राजपा नेता निर्वाचनमा सहभागी हुने पक्षमा उभिएपछि प्रदेश २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन हुने सुनिश्चित भएको छ । राजपाको माग पूरा गर्ने भन्दै सरकारले पटकपटक निर्वाचन सार्दै आएको थियो ।

यसैबीच, छाता चुनाव चिह्न माग गर्दै राजपा नेपालका नेता निर्वाचन आयोगमा पुगेका छन् । तर निर्वाचन आयोगले प्रदेश २ को स्थानीय निर्वाचनका लागि छाता चुनाव चिह्न दिन नसक्ने बताउँदै पार्टी एकीकरण गर्दा ६ वटा दलको चुनाव चिह्नमध्ये एक रोज्न सल्लाह दिएको छ ।

संविधान संशोधन भोटिङमा जाने

काठमाडौं / रास– सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच संविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ पेस गर्ने सहमति जुटेको छ ।

शुक्रबार बालुवाटारमा बसेको तीन दल शीर्ष नेताहरूको बैठकमा संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सहमति भएको हो । लामो समयदेखि रोकिएको विधेयक संसद्मा पेस गरे पनि त्यसको परिणाम स्वीकार नगर्ने राजपाले अडान लिएपछि विधेयक अड्किएको थियो ।

बैठकमा राजपा नेताले संसद्को परिणाम स्वीकार गर्ने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेपछि निर्णयार्थ प्रस्तुत गर्ने सहमति तीन दलबीच भएको हो । कांग्रेस नेता विमलेन्द्र निधिले संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सहमति भएको बताए । संसद्बाट विधेयक पारित गराउने प्रयास सरकारले गर्ने र आउने परिणाम सबैले स्विकार्ने सहमति जुटेको उनले बताए ।

राजपा नेता शरतसिंह भण्डारीले संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने र आउने परिणाम स्वीकार गर्ने बताएका छन् । संशोधन विधेयक पारित गराउने जिम्मेवारी सरकारको रहेकाले त्यो पास हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।

‘हामी बीचमा संशोधनलाई तत्काल निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सहमति भएको छ,’ भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्नेमा हामीलाई विश्वास छ, प्रक्रियामा गइसकेपछि खेलको नियमबाट भाग्ने कुरा आउँदैन ।’ संसद्बाट विधेयक पास वा फेल जे भए पनि त्यसलाई स्वीकार गरेर निर्वाचनमा जाने उनले बताए । विधेयक फेल गराउने दललाई जनताले सजाय दिने बताउँदै उनले आफ्नो कुरा लिएर आफुहरू जनताबीच जाने बताए ।
संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने तीन दलले सहमति गरे पनि संशोधनको पक्षमा दुई तिहाइ पुगेको छैन । संशोधनको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको गठबन्धन विधेयकको विरोधमा रहेको छ । उता एमाले नेता प्रदीप ज्ञवालीले संसद्मा संशोधन विधेयक प्रस्तुत गरिए त्यसको समर्थन पार्टीले नगर्ने बताए ।