संविधान संशोधन भोटिङमा जाने

काठमाडौं / रास– सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच संविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ पेस गर्ने सहमति जुटेको छ । शुक्रबार बालुवाटारमा बसेको तीन दल शीर्ष नेताहरूको बैठकमा संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सहमति भएको हो । लामो समयदेखि रोकिएको विधेयक संसद्मा पेस गरे पनि त्यसको परिणाम स्वीकार नगर्ने राजपाले अडान लिएपछि विधेयक अड्किएको थियो ।

बैठकमा राजपा नेताले संसद्को परिणाम स्वीकार गर्ने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेपछि निर्णयार्थ प्रस्तुत गर्ने सहमति तीन दलबीच भएको हो । कांग्रेस नेता विमलेन्द्र निधिले संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सहमति भएको बताए । संसद्बाट विधेयक पारित गराउने प्रयास सरकारले गर्ने र आउने परिणाम सबैले स्विकार्ने सहमति जुटेको उनले बताए ।राजपा नेता शरतसिंह भण्डारीले संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने र आउने परिणाम स्वीकार गर्ने बताएका छन् । संशोधन विधेयक पारित गराउने जिम्मेवारी सरकारको रहेकाले त्यो पास हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।

‘हामी बीचमा संशोधनलाई तत्काल निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सहमति भएको छ,’ भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्नेमा हामीलाई विश्वास छ, प्रक्रियामा गइसकेपछि खेलको नियमबाट भाग्ने कुरा आउँदैन ।’ संसद्बाट विधेयक पास वा फेल जे भए पनि त्यसलाई स्वीकार गरेर निर्वाचनमा जाने उनले बताए । विधेयक फेल गराउने दललाई जनताले सजाय दिने बताउँदै उनले आफ्नो कुरा लिएर आफुहरू जनताबीच जाने बताए ।
संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने तीन दलले सहमति गरे पनि संशोधनको पक्षमा दुई तिहाइ पुगेको छैन । संशोधनको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको गठबन्धन विधेयकको विरोधमा रहेको छ । उता एमाले नेता प्रदीप ज्ञवालीले संसद्मा संशोधन विधेयक प्रस्तुत गरिए त्यसको समर्थन पार्टीले नगर्ने बताए ।