दर्जनौं स्थानमा बाढीपहिरो ६ जनाको मृत्यु , सयौं परिवार विस्थापित , ५ सय बढी घर डुबानमा

पहिरोको डरले घर छाडेर जंगलभित्र पालमा बसेका बाजुरा बडिमालिकाका स्थानीय

जिल्ला ब्युरो / काठमाडौं

दर्जनौं स्थानमा गएको बाढीपहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । बस्ती नै जोखिममा पर्दा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् । बाढीपहिरोमा परेका परिवारको बिचल्ली भएको छ । मनसुन सुरु भएयता बाढीपहिरोमा परी बिहीबारसम्म ३९ जनाले ज्यान गुमाएका छन् ।

सक्रिय मनसुनका कारण मुलुकभर वर्षा हुँदा बाढीपहिरोका घटना बढेका हुन् । झन्डै दुई महिनासम्म कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन,’ उनले भने, ‘तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै नदीमा पानीको सतह बढेको र वर्षा बढी भएकाले पहिरो जानसक्ने भन्दै सतर्क रहन आह्वान गरेको छ । राससका अनुसार पाँचथरमा चार जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–३, ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर शुक्रबार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिरोले पावर हाउसमा कुरुवा बसेका उनीहरूलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोको डरले घर छाडेर जंगलभित्र पालमा बसेका बाजुरा बडिमालिकाका स्थानीय ।

पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए । त्यस्तै, फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर ८० वर्षीय त्रिलोचन विकको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ ।
त्यसैगरी बागलुङस्थित राजधानीकर्मीका अनुसार गलकोट नगरपालिकाको बडागाउँमा शुक्रबार अविरल वर्षाका कारण घर भत्किँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । बिहान करिब २ बजेको समयमा घरपछाडिको गाह्रो भत्किँदा पुरिएर ७५ वर्षीय जयलाल बिक र उनका नाति १३ वर्षीय विवेक बिकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ  । यस्तै गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहतस्वरूप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहतस्वरूप ३० हजार दिने जानकारी दिए ।

भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीन दिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थानमा बसिरहेका छन् । खाँडो, जिता र कोसी नदीको बाढी भारततर्फ निकास हुनुपर्ने भए पनि भारतीय पक्षले पक्की बाँध निर्माण गरेकाले आफूहरूको बस्ती टापुमा परिणत भएको स्थानीयको भनाइ छ ।
खाँडो, जिता, महुली र कोसी नदीको बाढीका कारण सप्तरीका ४ सय परिवार विस्थापनमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत बनरझुला, बरसाइन, कुसहा, टिकुलियाका गरी ४ सय परिवार विस्थापनमा परेका हुन् । त्यस्तै खाँडो खोलाको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा र बेल्हीका ४ सय घर डुबानमा परेका छन् । बिहीबारदेखि नै दुई फिटसम्म पानी जमेको छ ।

झापा राजधानीकर्मीका अनुसार लगातारको वर्षाले झापाका विभिन्न स्थानमा तीन सयबढी घर डुबानमा परेका छन् । कनकाई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा परेका छन् । त्यस्तै, मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको भैंसाबाडी र पृथ्वीनगरमा गरी २ सय ८० घर डुबानमा पारेको छ । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को रंगियाथानमा शुक्रबार बाँध भत्काएको छ । बाँध भत्काएपछि उक्त क्षेत्रका ६ सय घरपरिवार डुबानको जोखिममा परेका छन् ।

तेह्रथुमस्थित राजधानीकर्मीका अनुसार लगातारको वर्षाका कारण तेह्रथुममा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । वर्षाका कारण शुक्रबार दिउँसो आठराई गाउँपालिकाको संक्रान्ति बजारमा पहिरोले दुई घरमा पूर्ण रूपले क्षति भएको छ । बजारकै आधा दर्जन बढी घरहरू पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाँको घरमा क्षति पुगेको इलाका प्रहरीकार्यालय संक्रान्तिका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । पहिरोबाट संक्रान्ति बजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानियाँ, तिलबहदुर इङनाम, राम इङनाम, सुमन नेपाललगायता घर पहिरोको जोखिमा छन् । यसै गरी पहिरोका कारण म्याङलुङ नगरपालिकाको जिरिखिम्ती  सुर्केका मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम, इन्द्र सुवेदी, मेनुका तामाङ र भीमबहादुर लिम्बूका परिवार विस्थापित भएका छन् ।

यसैगरी छथर गाउँपालिका–२ शुक्रबारेमा रहेका कृष्ण सुवेदी र दलरूप लिम्बुको घर पूर्ण रूपमा क्षति भएको स्थानीय दीपा खुलालले बताइन् । लगातारको वर्षापछि आङदिम, ओयाक्जुङ, वसन्तपुर, मोराहाङ, श्रीजुङ, पौंठाक, आम्बुङ, दाँगपा साविक गाविसका विभिन्न ठाउँमा गएको पहिरोले स्थानीयलाई क्षति पु¥याएको छ । यसैगरी म्याङलुङ–वसन्तपुर सडकखण्डको लसुने, टुक्रे, जिरिखिम्ती, सुर्के क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेको छ । लालीगुराँस नगरपालिकाको वसन्तपुर र फुलेकमा दशक अघिदेखि नै पहिरोले बस्ती तान्ने खतरा बढेको छ । पहिरोको आकार बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफल समेत घट्दै गएको स्थानीय शिक्षक राम खनाल बताउँछन् । आठराई गाउँपालिकाको खाम्लालुङ, ह्वाकु, इवा, चुहानडाँडाका दर्जनौं बस्तीसमेत पहिरोको जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष रूपा कन्दंवाले बताइन् । वर्षायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

यस्तै पहिरोका कारण धनकुटाको भेडेटार–६ नम्बर बुधबारे सडक अवरुद्ध भएको छ । चौबिसे गाउँपालिका–१ सौरेस्थित सडकमा बिहीबार राति पहिरोसँगै ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि शुक्रबार बिहानदेखि नै उक्त सडकमा सवारी आवतजावत ठप्प भएको छ । नेपाली सेनासँग समन्वय गरेर सडक खुलाउने पहल भएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

दिउँसो गाँस र राति बासको चिन्ता

निमेन्द्र शाही / बाजुरा

पहिरोले विस्थापित बडिमालिका नगरपालिका–९, उखाडीका नौ परिवारको बिचल्ली भएको छ । उनीहरूलाई गाँस र बासकै चिन्ताले पिरोलेको छ । बस्तीमाथि सडक निर्माण गर्न खनिएको स्थानबाट गइरहेको पहिरोले घर नै पुर्ने डर भएर उनीहरू पालमा बस्न बाध्य छन् ।

हलिया बनेर छाक टार्दै आएका उनीहरू सरकारले हलिया मुक्त गरेसँगै झन् समस्यामा परेका थिए । हलिया मुक्त भएसँगै जग्गाधनीले काम नदिँदा हातमुख जोड्नै समस्या भएको जोगी लुहारको भनाइ छ । साथै पहिरोले बस्ती नै जोखिममा परेपछि उनीहरूको दैनिकी झन् कष्टकर बनेको छ ।

‘हामीलाई दिउँसो खाना खोज्नै हैरान छ,’ सातजना परिवारका मुली रहेका जोगी लुहारले भने, ‘सडक काटिसकेपछि पहिरोले बास खोज्न हैरान थप्यो ।’ पर्याप्त जग्गा जमिन नभएकाले उनीहरूलाई आफ्नो बारीको उत्पादनबाट तीन महिनासमेत छाक टार्न धौधौ हुने गरेको छ । कच्ची सडकबाट बगेर आएको माटोले पहिरोको रूप लिँदा उनीहरूलाई बासको पनि पीडा थपिएको हो ।

खुला आकाशमा रात बिताउनुपर्ने अवस्था आएपछि दुई साताअघि उनीहरू रेडक्रसमा राहत माग्न पुगेका थिए । ‘यहाँ मरेपछि मात्र राहत माग्न आउनुहोला,’ रेडक्रसका प्रतिनिधिको भनाइ उद्धृत गर्दै स्थानीय रूपा चँदाराले भनिन्, ‘जवाफ सुनेर मन कटक्क खायो, रित्तै फर्कियौं ।’

तीन वर्षअघिदेखि रजाली हुँदै जाने सडक खन्न डोजर प्रयोगपछि अघिल्लै वर्षदेखि उखाडीको यो बस्तीमा पहिरो खस्न सुरु भएको थियो । वर्षा सुरु भएपछि सो बस्तीका मुक्त हलिया परिवार वर्षामा तीन महिना घर छाड्न बाध्य हुने गरेका छन् ।