श्री एयरलाइन्सको नयाँ विमानले उडान थाल्यो

काठमाडौं / रास— निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको नयाँ विमानले मुलुकका विभिन्न गन्तव्यहरूमा आन्तरिक उडान सेवा सुरु गरेको छ । विगत चार महिनाको प्रतिक्षापछि बल्ल उडान अनुमति (एओसी) पाएको श्री एयरलाइन्सले शुक्रबारदेखि नियमित व्यावसायिक उडान थालेको हो ।

आन्तरिक उडानको पहिलो दिन नै श्री एयरलाइन्सले देशका तीन स्थानमा उडान भरेको थियो । श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार शुक्रबार एयरलाइन्सले भैरहवा, नेपालगन्ज र धनगढी उडान भरेको हो । शनिबारदेखि भद्रपुर र आइतबारदेखि विराटनगरको उडान भर्ने उनले जानकारी दिए । मानन्धरले अहिले पाँच स्थानमा उडान भर्ने तय भइसकेको बताए । यसैगरी माउन्टेन फ्लाइट पनि सुरु गर्ने योजना बनाइरहेको उनले जानकारी दिए ।

यसअघि हेलिकोप्टर मात्र रहेको श्री एयरलाइन्सले नयाँ विमान ल्याएको करिब चार महिनापछि बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई एओसी दिएको थियो । श्री एयरले अहिलेसम्म तीनवटा विमान ल्याइसकेको छ । श्री एयरलाइन्सले पहिलो विमान गत चैतमा नै किनेको थियो । यसले तीन महिनामा क्यानाडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भिœयाएको थियो । यस एयरलाइन्सले चार महिनाअघिदेखि उडान थाल्न खोजेको भए पनि प्राधिकरणले एओसी दिनमा गरेको ढिलाइका कारण उडान भर्न सकेको थिएन ।

नियमित उडान गर्नुपर्ने विमान ग्राउन्डेड भएर बसिरहँदा कम्पनीले ठूलो क्षति बेहोर्नुपरेको छ । तीन महिना बित्दासम्म पनि पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धानले तानेको थियो । अख्तियारले छानबिन गर्न थालेपछि मात्रै प्राधिकरणले एओसीको प्रक्रिया थालेको थियो । एओसी जारी गर्नुभन्दा पहिले उडान परीक्षण गर्ने अनुमति पनि प्राधिकरणले केही दिनअघि मात्रै दिएको थियो ।

श्री एयरलाइन्सले उडान थालेसँगै नेपालको आन्तरिक उडान थप प्रतिस्पर्धात्मक बनेको छ । यसअघि श्री एयरलाइन्सले उडान नथाल्दै मंगलबार र शनिबार यात्रु कम भएको देखिएको थियो । यसले उडान थालेपछि झनै प्रतिस्पर्धा बढ्ने देखिन्छ ।

प्रतिस्पर्धा बढ्दै गएपछि अहिले विमान कम्पनीहरूले बेलाबेलामा भाडा घटाउने गरेका छन् । यसरी आन्तरिक प्रतिस्पर्धा बढेपछि यात्रुलाई भने फाइदा पुग्ने देखिन्छ ।