उकालो लाग्न सकेन सेयर बजार

काठमाडौं / रास— सेयर बजार यो साता पनि उकालो लाग्न सकेन । विगतमा निरन्तर ओरालो लाग्दै आएको बजारले यो साता पनि सुधारको गति लिन नसकेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन १६५३.५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.०८ अंकले घटेर ३४७.०३ अंकमा आइपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६८ कम्पनीहरूको कारोबार भएको छ । जसअनुसार ३४७७३ कारोबारबाट ३ अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका १ करोड २१ लाख ३ हजार ५ सय ८० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम हो । गत साता १६७ कम्पनीहरूको कारोबार भएको थियो । जसअनुसार ४४४८८ कारोबारबाट ५ अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका १ करोड ५ लाख ८० हजार ४ सय ९० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए । यस साता कारोबार रकम (१९ करोड ५३ लाख १० हजार रुपैयाँ) को आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या (३१ लाख २७ हजार कित्ता) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम एक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी, कारोबार संख्या (१७६१ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।