पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं / रास— ढुवानीका क्रममा हुने प्राविधिक क्षतिपूर्ति नेपाल आयल निगमले बेहोनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । विगत लामो समयदेखि आप्mना माग पूरा नगरेको भन्दै गत बुधबारदेखि फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेको व्यवसायीले शुक्रबार निगमले माग पूरा गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् ।

आन्दोलन फिर्ता लिएसँगै पेट्रोल तथा डिजलको कारोबार सामान्य अवस्थामा फर्किसकेको निगम र व्यवसायी दुइटै पक्षले बताएका छन् । विगतमा नेपाल आयल निगमले प्रति ४ हजार लिटर पेट्रोलमा ३५ लिटर र डिजलमा २४ लिटरसम्म क्षति बेहोर्दै आएको थियो । व्यवसायीहरूले त्यसमा धेरै नोक्सान भएकोले व्यवसाय गर्न नै कठिन भएको भन्दै क्षतिपूर्तिको मात्रा बढाउन माग गर्दै पटकपटक आपूर्तिमा अवरोध पु¥याउँदै आएका थिए ।

शुक्रबार नेपाल आयल निगमले पेट्रोलको क्षतिपूर्ति प्रति ४ हजार लिटरमा १० लिटरले वृद्धि गर्दै ४५ लिटर पु¥याएको छ । त्यस्तै, डिजलमा तीन लिटरले वृद्धि गर्दै २७ लिटर पु¥याएकाले आन्दोलनरत पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका निगम प्रवक्ता सीताराम पोखरेलले बताए । प्रवक्ता पोखरेलका अनुसार शुक्रबार दिउँसोदेखि थानकोट डिपोबाट व्यवसायीले सामान्य आवस्थाको जस्तै पेट्रोल उठाउन थालेका छन् । अध्ययन टोलीले अहिले बुझाएको प्रतिवेदन अपुरो रहेकाले पूर्णप्रतिवेदन नआउन्जेलसम्म व्यवसायी यसमा नै सहमत भएका छन् ।

त्यसैगरी, आन्दोलनरत पक्ष पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियनका अध्यक्ष लिलेन्द्र प्रधानले आफूहरूले तत्काललाई बजार खुला गर्नका लागि निगमले तोकेको मापदण्डमा नै सहमत हुनु परेको बताए ।

उनले तत्काललाई बजारमा पेट्रोलको अभाव हुन नदिनको लागि यसै मापदण्डलाई मानेको बताए । अहिलेको प्रतिवेदन पूर्ण नरहेको र पूर्ण प्रतिवेदन आउन अझै ६ महिनासम्म अध्ययन गर्न अर्को समिति गठन गरिने उनले बताए । ६ महिनापछि सो समितिले दिएको प्रतिवेदनलाई मान्ने र त्यति बेलासम्म निगमले दिएको मापदण्ड पेट्रोलमा ४५ लिटर र डिजलमा २७ लिटरलाई नै मान्ने उनको भनाइ छ । यसअघि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियनले गत बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेरै बिहीबारदेखि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । व्यवसायीले आन्दोलन घोषणा गरेसँगै बिहीबारदेखि नै पेट्रोल पम्पहरूमा उपभोक्ताको लाइन लाग्ने गरेको थियो ।

एसोसियनका आन्दोलनका कार्यक्रमअन्तर्गत आगामी आइतबारदेखि डिपोबाट पेट्रोल नउठाउने, त्यति गर्दा समेत निगमले माग पूरा नगरे सोमबारदेखि डिजल समित पेट्रोल नउठाउने र मंगलबारदेखि पेट्रोल तथा डिजलको कारोबार नै ठप्प पार्ने रहेका थिए ।