अलैंचीको बिरुवा बिक्री

जनक श्रेष्ठ / लमजुङ

लमजुङमा ३० लाख अलैंचीको बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न ठाउँका किसानहरूले अलैंचीको बिरुवा उत्पादन गरी जिल्लाभित्र र जिल्लाबाहिर गरेर असार र साउन गरी दुई महिनामा यतिका विरुवा बिक्री गरेका हुन् । उक्त अलैंचीका बिरुवा बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी भएको छ । असार, साउन र भदौ महिनामा अलैंची बिरुवा लगाइने भएकाले अहिले बिरुवा बिक्री भइरहेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए । उनले भने, ‘अलैंचीको विभिन्न जात भए पनि लमजुङको माटोमा सुहाउँदो राम जात र गोसाई जातका बिरुवा जिल्लाका किसानहरूले लगाउँदै आएका छन् ।

जिल्लाका दर्जनौं ठाउँमा करिब ३० हजार किसानहरूले अलैंची खेती गरेका छन् । विगत केही वर्षबाट मात्रै अलैंची खेतीको व्यवसाय सुरु गरे पनि छोटो समयमै लमजुङका किसानहरूले अलैंची खेतीलाई राम्रो आम्दानीको स्रोतसमेत बनाउँदै आएका छन् । विदेशमा मात्रै पैसा कमाउन सकिन्छ भन्ने मनस्थितिका कयौं युवायुवतीहरूलाई लमजुङमा फस्टाउँदै गएको अलैंची व्यवसायबाट राम्रो सन्देश पुग्ने जिल्लाका अलैंची खेती किसानहरूको भनाइ छ । वर्षमै कम्तीमा पनि एक जना किसानले अलैंची खेतीबाट ५ लाख कमाउन सकिने भएकाले आम्दानीको स्रोत बन्दै गएको अलैंची किसान अजय तामाङले बताए ।

बिस्तारै अहिले अलैंची खेतीमा जिल्लाका किसानहरूको आकर्षण बढ्दै गएको छ । गत वर्ष जिल्लाभित्रका किसानहरूले ५० लाख अलैंचीको बिरुवाकोे माग गरे तापनि १७ लाख मात्र बिरुवा उत्पादन हुँदा सबै किसानहरूले बिरुवा पाएनन् । त्यस्तै, जिल्ला बाहिरबाट समेत अलैंची बिरुवाको उच्च माग भएको थियो ।

उक्त अलैंची बिरुवा बिक्रीबाट २ करोड ४ लाख रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, अलैंचीको ८ सय २१ क्विन्टल दाना उत्पादनबाट १३ करोड आम्दानी भयो । यस वर्ष अलैंची बिरुवाको उत्पादन बढे पनि माग र मूल्य घटेको छ । यस वर्ष जिल्लामा अलैंची बिरुवाको उत्पादन ६० लाखभन्दा बढी रहे पनि गत वर्षको तुलनामा मूल्य र मागसमेत कम भएको छ । यस वर्ष प्रतिबिरुवा ९ रुयैयाँ तोकिएको छ भने ४० लाख अलैंची बिरुवाको माग भएको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष तामाङको भनाइ छ ।

उनका अनुसार माग भएको सबै बिरुवा भदौ मसान्तसम्म किसानहरूले लगिसक्नेछन् । गत वर्षको तुलनामा यस वर्ष प्रतिअलैंची बिरुवामा ३ रुपैयाँले मूल्य घटेको हो । अलैंची बिरुवा लगाएको करिब ३ वर्षपछि मात्र फल दिने भए पनि फल्न सुरु भएपछि भने २०औं वर्षसम्म पनि बर्षेनि फल दिने गर्दछ । जसले गर्दा कम लागतमा बढी आम्दानी अलैंची खेतीबाट गर्न सकिने भएकाले जिल्लाका किसानहरू यस खेतीमा आकर्षित हँुदै गएको छ । केही वर्षदेखि धान खेती मासेर श्रीमञ्जाङ, दुराडाँडा, चन्द्रेश्वरलगायत ठाउँमा अलैंची खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालय लमजुङका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । उनले भने, ‘जिल्लाका अन्य ठाउँमा पनि धान कम हुने भएकाले अलैंची खेती गर्न थालेका छन् ।’ लमजुङको अलैंचीको बिरुवा उत्कृष्ट भएकाले जिल्ला बाहिरका किसानहरूले पनि लमजुङबाटै लगेर अलैंची खेती गर्दै आएका छन् ।

लमजुङमा उत्पादन भएको अलैंची बिरुवा जिल्लाबाहिर गोर्खा, तनहुँ, कास्की, स्याङ्जा, पर्वतलगायतका जिल्लामा समेत बिक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।