३० वर्षे प्रावधान नहटाउन कर्मचारीको दबाब

कमला अर्याल  / काठमाडौं

नेपाल राष्ट्र बैंकका कर्मचारीले ३० वर्षे प्रावधान नहटाउन दबाब दिएका छन् । राष्ट्र बैंक व्यवस्थापन पक्षले ३० वर्षे प्रावधान हटाउने गरी कर्मचारी नियमावली संशोधन गर्ने तयारी गरेपछि आफूहरू थप सेवा गर्न पाउनुपर्ने स्वार्थका कारण ३० वर्षे प्रावधान नहटाउन कर्मचारीले पटकपटक दबाब दिएका हुन् । वित्तीय संस्था कर्मचारी संघले पटकपटक ३० वर्षे प्रावधान नहटाउन राष्ट्र बैंकमा किचलो गर्दै आएको स्रोतको भनाइ छ ।

राष्ट्र बैंक स्रोतका अनुसार संघले आफ्नै पार्टी समर्थित गभर्नर डा. चिरञ्जीवी नेपाललाई ३० वर्षे सेवाको प्रावधान नहटाउन चर्काे दबाब दिइरहेको छ । तर संघकै एकखाले कर्मचारीहरूले भने फरक मत राखेका छन् ।

ती कर्मचारीले ३० वर्षे सेवा अवधि हटाउनुपर्छ भन्ने मत राखेका छन् । राष्ट्र बैंक व्यवस्थापनले गर्न लागेको सो व्यवस्थाले राष्ट्र बैंकका सबै कर्मचारीलाई फाइदा हुने ती कर्मचारीको भनाइ छ ।

३० वर्षे प्रावधान नहटाउने रटानले कसैलाई फाइदा नहुने उनीहरूको भनाइ छ । राष्ट्र बैंकका एक निर्देशकले भने, ‘यो केही व्यक्तिहरूको निजी स्वार्थका लागि भएको असमति हो ।’ यो सेवा अवधिलाई निरन्तरता दिन पाए आफ्नो सेवा अवधि लम्बिने स्वार्थका साथ संघका केही कर्मचारीले यस्तो असमति राखेको ती निर्देशकले बताए ।

ती निर्देशक पनि संघ समर्थित कर्मचारी हुन् । विरोध गर्नेहरूले जोश जाँगरका साथ काम नगर्ने, आलटाल गर्ने, बेला बेलामा विभिन्न स्वार्थसँग सम्बन्धित माग राखेर बखेडा झिक्नेलगायतका किचलो गर्ने गरेको ती निर्देशकको आरोप छ ।

साथै संघलाई आफ्नै पार्टी समर्थित गभर्नलाई काममा सहयोग नगरेको आरोप छ । तर कर्मचारी संघले भने सहयोग नै नगर्ने गरी काम नगरेको बताएको छ । ३० वर्षे सेवा अवधिमा आफ्नो असहमति रहेको भन्दै त्यसले कुनै असर नपारेकाले त्यसैलाई निरन्तरता दिनुपर्छ भन्ने संघको माग छ ।

संघका अध्यक्ष रेशमराज रेग्मीले भने, ‘३० वर्षे प्रावधानमा हाम्रो असमति हो ।’ राष्ट्र बैंकलाई हित हुने गरी त्यस्तो मत राखेको उनको भनाइ छ । राष्ट्र बैंकको हितविपरीत आफूहरू जान नसक्ने भएकाले आफूहरूले त्यस्तो मत राखेको उनले बताए । बैंकको हित के हो भन्ने कुराको पहिचान नहुन्जेल सोही व्यवस्था ठीक भएकाले निरन्तरता दिनुपर्ने अध्यक्ष रेग्मीको माग छ ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएसँगै सन् २००१ मा पुराना कर्मचारीलाई अवकास दिने र सूचना प्रविधिमा दक्ष युवा पुस्ता भर्ती गर्ने उद्देश्यले ३० वर्षे सेवा अवधि लागू भएको थियो । अहिले ५८ वर्ष उमेर या ३० वर्ष सेवा मध्ये जुन पहिला आयो त्यसैका आधारमा कर्मचारीले अवकास पाउने गरेका छन् ।

यो व्यवस्थाका कारण राष्ट्र बैंकबाट दक्ष र अनुभवी तालिम प्राप्त जनशक्तिले अवकाश पाउने देखिन्छ । यस व्यवस्थालाई निरन्तरता दिँदा राष्ट्र बैंकको आन्तरिक प्रणाली तथा अर्थतन्त्रमा नै नकारात्मक असर पर्न जाने भएकाले राष्ट्र बैंकले ३० वर्षे प्रावधान हटाउने गरी तयारी थालेको हो । राष्ट्र बैंकका अधिकांश कर्मचारीको ३० वर्षे योजना हटाउनुपर्छ भन्ने माग छ ।

अबको १ र २ वर्ष यो व्यवस्था रहिरहे ठूलो संख्यामा दक्ष र अनुभवी कर्मचारी राष्ट्र बैंकबाट बाहिरिने र त्यसले राष्ट्र बैंकलाई ठूलो क्षति पुग्ने अर्का निर्देशकले बताए । उनले भने, ‘हाम्रो माग ३० वर्षे सेवा अवधि हटाउनुपर्छ भन्ने हो ।’ यसले गर्दा सेवा अवधि पनि बढ्छ, साथै उमेर हदमा अवकास दिने प्रणालीले सबै कर्मचारीको भलो हुने तथा राष्ट्र बैंकको पनि हित हुने ती निर्देशकले बताए । विरोध गर्नेहरूले सिद्धान्तका आधारमा नभई स्वार्थका आधारमा गरेको उनको भनाइ छ । लोक सेवाको सिद्धान्तअनुसार राष्ट्र बैंकले यस्तो निर्णय गर्न लागेको जनाएको छ ।