राधाकृष्ण रथयात्राको दिन महानगरमा बिदा दिइने

राजधानी संवाददाता  / मोरङ

राधाकृष्ण रथयात्राको दिन सार्वजनिक बिदा दिएर विराटनगर महानगरपालिकाले स्थानीय सरकारको अनुभूति दिलाएको छ । ऐतिहासिक राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदाको माग बर्षेनि हुँदै आएको थियो । तर अनेकौं प्रयत्न गर्दा पनि सार्वजनिक बिदा कायम हुन सकेको थिएन । स्थानीय तहको निर्वाचनपछि भने विराटनगर महानगरपालिकाले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दक्षिण एसियाकै ठूलो रथयात्राका रूपमा लिइने विराटनगरको राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदा दिइएपछि महŒव अझ उचाइमा पुगेको स्थानीयले बताएका छन् ।

खटयात्राबाट रथयात्रामा परिणत भएको ५० वर्ष पुगेको अवसरमा यसपटक राष्ट्रपतिबाट उद्घाटनको तयारी भएको रथयात्रामा भएको सार्वजनिक बिदाले सबै महानगरवासीको प्रत्यक्ष सहभागिता रहने आयोजकको विश्वास छ । विराटनगर महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै रथयात्रामा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

महानगरपालिकाको निर्णयपछि रथयात्रा आयोजक समितिका संयोजक बाबुराजा ओझाले महानगरको निर्णयले स्थानीय सरकारको अनुभूति भएको बताए । ‘भारतको जगन्नाथ पुरीपछि एसियाकै ठूलो रथयात्राको दिन सार्वजनिक बिदा दिन नेपाल सरकारसँग पटकपटक आग्रह ग¥यौं, सम्भव भएको थिएन,’ उनले भने, ‘महानगरको यो निर्णयले आयोजक र महानगरवासीको भावनाको कदर भएको छ ।’