‘संविधान संशोधन नगरिए सोच्ने अवस्था आउँछ’

राजधानी संवाददाता / राजविराज

संविधान संशोधनको विकल्प नभएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसो नगरिए अर्को संविधानको बारेमा सोच्न सकिने चेतावनी  दिएका छन् ।

शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा संघीय प्रेस फोरम शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् । संविधान संशोधन विधेयकलाई तेस्रो चरणको स्थानीय तहको निर्वाचनअघि नै निर्णयार्थ सदनमा राखेर पारित नगराइए महा भुल हुने भन्दै उनले भने, ‘टेबुल मात्र गर्ने होइन, पारित गराउने काम पनि तीन ठूला दलबाट हुनुपर्छ ।’

संविधान संशोधनको विकल्प नभएको बताएका उनले कुनै पनि वहाना र आलटाल गरिए अर्को संविधानको बारेमा सोच्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए । संविधान संशानेधनको पक्षमा दुई तिहाई पुग्नै लागेको बेला प्रतिगमनकारीको चलखेल र षडयन्त्र बढ्ने गरेको उल्लेख गर्दै यी सबै षडयन्त्रलाई चिर्दै अविलम्ब संविधान संशोधन गर्नुपर्र्नेमा जोड दिए । यी सबै खेल संघीयतालाई समाप्त पार्ने र परिवर्तन उल्ट्याउन भइरहेको उनको भनाइ थियो ।

मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर एक चरणमा गराउनुपर्ने स्थानीय तहको निर्वाचन तीन चरणमा पु¥याएको आरोप लगाउँदै उनले भने, ‘आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णय सिंगो मधेसको अस्तित्वमाथि नै ठाडो प्रहार हो ।’