सब–इन्जिनियर सिंह अख्तियारको नियन्त्रणमा

राजधानी संवाददाता / रौतहट

रौतहटमा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित शुक्रबार पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरको बीपी चोकको एक चिया पसलबाट  शिक्षा कार्यालयका सब–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा क्षेत्रीय अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

जिल्लाको माधव नारायण गाउँपालिकामा रहेको श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्ता बापतको रकम निकासा गराइदिनका लागि सब–इन्जिनियर सिंहले विद्यालयका पूर्वप्रधानाध्यापक रामउदर यादवसँग ३५ हजार रुपैयाँ घुस रकम लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

घुस रकम लिँदै गरेको अवस्थामा सिंहलाई अख्तियार अनुसन्धान आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडामा पठाइएको छ ।