बाढीले जलमग्न

राजधानी संवाददाता / राजविराज

तीन दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको विभिन्न नदी र खोलामा आएको बाढीले एक दर्जन गाउँ जलमग्न भएका छन् । राजविराज नगरपालिकाको २, ५, ९ र १० वडासमेत डुबानमा परेका छन् । जिल्लाको भेडिया, देउरी भरुवा र विरौलस्थित तटबन्ध कटान गरी बाढी पस्दा करिब ४ सय घर डुबानमा परेका छन् । उक्त घरहरूमा बाढी पस्दा २ फिटसम्म पानी जमेको छ ।

बाढीले सकरपुरा, तिलाठी, काइलाडी, रम्पुरा मलहनियाँ, रघुनाथपुर, विरौल, वभनगामाकट्टी, देउरी भरुवा, डुमरी शिवथान, भेडिया, लौनियाँ, लोखरम, गोबरगाढा, वरही वीरपुर, मैनाकडेरीलगायतका गाउँ जलमग्न बनेका छन् । खोँडो खोलाको बाढीले राजविराज नगरपालिकाको २, ५, ९ र १० वडाको घरमा पानी पसेर जनजीवन कष्टकर बनाएको पीडितहरूले बताए ।

‘वडाका अधिकांश घरमा पानी छ, घरबाट बाहिर निस्किने अवस्था छैन, वडा नम्बर ५ का अजितकुमार ठाकुरले भने, ‘वृद्ध महिला, बालबालिका र पशुचौपायको झन् वियोग छ ।’

जीता खोलाको बाढीले तिलाठी कोइलाडी ७ स्थित नवटोलिया बस्तीका १० घर डुबानमा परेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय स्वास्थ्य चौकी र वेल्ही भन्सार कार्यालय र प्रहरी पोस्ट पनि जलमग्न भएको छ ।

बाढीले घर जलमग्न भएपछि अधिकांश मानिस घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । बाढीले डाइभर्सन बगाउँदा राजविराज कुनौली सडकखण्डसमेत अवरुद्ध बनेको छ । यस्तै, सयौं बिघा खेतीयोग्य जग्गा बाढीका कारण बगर भएको पीडितहरूले बताएका छन् ।

बाढीप्रभावित क्षेत्रमा व्यापक संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिएका छन् । यसैबीच शुक्रबारै नेपाल प्रहरीका डीआईजी रमेश भट्टराई तथा सशस्त्र प्रहरीका डीआईजी जानकी भट्टराई ४० जनाको प्राविधिक टोलीसहित प्रभावित क्षेत्रमा आइपुगेका छन् । टोलीले बाँध पुनर्निर्माण र बाढीको वेग अन्यत्र मोड्न काम गर्ने प्रहरीले जनाएको छ ।

यता बाढीले बगाएको राजविराज नगरपालिका १५ का ५३ वर्षीय मुसहरू भनिने डोमी यादव अहिलेसम्म बेपत्ता छन् । कटान रोक्न बाँसले बाढी छेक्ने र भत्केको तटबन्ध मर्मत गर्ने प्रयासमा लागेको बेला अघिल्लो दिन उनलाई बाढीले बगाएको थियो । उनको खोजीमा सशस्त्र प्रहरी पूर्वी मुख्यालय इटहरीबाट आएको गोताखोरको टोली अझै जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । वर्षा अझै नरोकिएकाले खोजी कार्य कठिन बनेको उनको भनाइ छ ।