चिडियाखानाबाट ल्याइएका अर्ना बचेनन्

चितवन / रासस– सदर चिडियाखानाबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका तीनवटै अर्ना मरेका छन् । चिडियाखानामा रहेका एक भाले र दुई पोथी अर्ना निकुञ्जमा ल्याइएको थियो । गत माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १२ वटा अर्ना र चिडियाखानाबाट एक भालेसहित तीनवटा अर्ना ल्याइएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साता थप एउटा मरेपछि चिडियाखानाबाट ल्याइएका सबै अर्ना मरेका हुन् । चिडियाखानामा तयारी खाना खाएका अर्नाले छाडिएका ठाउँमा खोजेर घाँस, पानी नखाएकाले आहाराकै कारण ती अर्ना मरेको अनुमान गरिएको छ । कोसीटप्पुबाट ल्याइएका अर्ना बथानमा हिँड्ने गरेको भए पनि चिडियाखानाबाट ल्याइएका अर्ना छुट्टाछुट्टै बस्ने गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुला खोर (इन्क्लोजर) निर्माण गरी राखिएको छ । बाघले अर्नाको सिकार गर्ने भएकाले खुला खोरमा राख्ने व्यवस्था गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुला खोरमै राख्ने तयारी गरिएको छ । २ हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको खोरमा अर्ना राखिएको छ ।

इन्क्लोजरभित्र अर्नासँगै चारवटा बाह्रसिंगे पनि रहेका छन् । शुक्लाफाँटाबाट ल्याइएका सातवटा बाह्रसिंगेमध्ये तीनवटा मरेपछि हाल एक भाले र तीन पोथी मात्र रहेको निकुञ्जले जनाएको छ ।