सिन्धुलीमा पहिरोले पुरिएर एकै घरका चारको मृत्यु, बाँकेमा घर भत्कँदा तीन बालबालिकाको मृत्यु

सिन्धुली, २८ साउन । शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।
सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको छ ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताउनुभयो ।

“राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए” खड्काले भन्नुभयो ।

पहिरामा परेकाहरुलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो । शव सिन्धुली अस्पतालम राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो । राति परेको अविरल वर्षाको कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

खजुरा (बाँके), २८ साउन । राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताउनुभयो । मृतकको अझैसम्म नाम खुलेको छैन । उहाँका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।