हाइड्रो मोडेल बन्दै लमजुङ

हाइड्रो मोडेल  बन्दै लमजुङ

उज्ज्वल खनाल

लमजुङ जलविद्युत् उत्पादनको खानीका रूपमा चर्चित हँुदै आएको छ । अहिले आएर नेपालकै नमुना हाइड्रो  ‘हब’का रूपमा विकसित हुदै आएको छ यो जिल्ला । खानी लगानीमैत्री र जलविद्युत् मैत्री वातावरण निमार्णसँगै लमजुङमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउन थालेको छ । जलविद्युत्को प्रचुर सम्भावना बोकेको लमजुङ जिल्लालाई ‘हाइड्रो मोडेल’ जिल्ला घोषणा गर्न यहाँका राजनीतिक दल, सरकारी निकाय र निजी क्षेत्रका लगानीकर्ताका साथै स्थानीहरूले सामूहिक प्रतिबद्धता जनाएसँगै जलविद्युत्को क्षेत्रमा थप नयाँ आयाम थपिएको छ । निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाहरूले निर्धारित समयमै काम सकाए र ‘पीपीए’को चरणमा रहेको १ सय ३८ मेगावाटको माथिल्लो मस्र्याङ्दी–१ एवं ‘पीडीए’को चरणमा रहेको ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ ले प्रक्रिया सकाएर निर्माणको काम थाले आगामी पाँच वर्षभित्र लमजुङमा १ हजारभन्दा बढी विद्युत् उत्पादन हुन सक्ने अवस्था छ ।

ठूला जलविद्युत् आयोजना, मझौला र लघुजलविद्युत्को आयोजनाको सम्भाव्यता हेर्दा सिंगो नेपाललाई नै पुग्ने जलविद्युत् आयोजनाको क्षमता लमजुङसँग छ । पानीको बहाव कम हुँदा २ हजार ५ सय र बढी हुँदा ३ हजार ५ सय मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने लमजुङमा जलविद्युत्का मुख्य चारवटा करिडोर छन् । मस्र्याङ्दी करिडोरअन्तर्गत हिमताल हाइड्रोपावर र भारतीय कम्पनी जीएमआरको करिब ८५ अर्ब रुपैयाँको लगानीमा निर्माण गरीन लागेको ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दीे–२, ‘पीडीए’को चरणमा छ । सरकारले ‘पीडीए’का लागि स्वीकृति नदिँदा आयोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन ।

मल्टी मोडेल डेभलपर्स प्रालिले निर्माण गर्न लागेको १ सय ३८ मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी–१, बुटवल पावर कम्पनी ‘पीपीए’को चरणमा रहेको आयोजनाका प्रवद्र्धक हेमजंग गुरुङले जानकारी दिए । ‘ट्रान्समिसनलाईनका कारणल ‘पीपीए’ हुन सकेको थिएन, खुदीको टारीकुनासम्म ट्रान्समिसन लाइन बनिसकेको छ, त्यसयता पनि ट्रान्समिसन लाइन निर्माणको कार्यलाई नेपाल विद्युत् प्राधिकरणले टेन्डर आह्वान गरिसकेको छ ।’ उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भावना देखिएकाले अब चाँडै नै विद्युत् खरिद सम्झौता (पीपीए) हुने उनले बताए ।

न्यादी जलविद्युत् अयोजनाका सीईओ मेघेन्द्रकुमार श्रेष्ठले जानकारी दिएअनुसार, बाहुनडाँडा र भुलभुले गाविसमा निर्माण गर्न लागेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य थालनी भएको छ । २०७६ चैत्र ३० गते सक्ने लक्ष्यसाथ सुरु हुन लागेको सो आयोजनामा ब्याजसहित ६ अर्बको लगानी छ । आयोजनामा एभेरेस्ट बैंकको नेतृत्वमा नबिल, ग्लोबल आईएमई, हिमालयन बैंक, सनराइज बैंक र हाइड्रो इन्भेस्टमेन्ट बिकास कम्पनीले ४ अर्ब ४० करोड ऋण लगानी गरेका छन् ।

त्यस्तै आयोजनामा १ अर्ब ५० करोड स्वामित्व पुँजी, १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयरबाट, २२ करोड ५० लाख सर्वसाधरणको सेयरबाट र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको १५ करोड रुपैयाँ लागनी रहने छ । उहाँका अनुसार, आयोजनाले वाताबरण तथा सामाजिक क्षेत्रका लागि करिब ४ करोड खर्च गर्नेछ । न्यादी जलविद्युत्् आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडका अध्यक्ष लिउ कोछिङले निर्धारित समयममै काम सक्ने बताए । नदीको बहाबमा आाधिरत सो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत्् उत्पादन गरी नेपाल विद्युत्् प्राधिकरणलाई बिक्री गरिने बताइएको छ । प्रतिवर्ष १७ करोड २२ लाख युनिट विद्युत् उत्पाद हुने आयोजनाको ग्रस हेड ३ सय ३५ मिटर छ ।

सिनोहाइड्रो र सगरमाथा पावर कम्पनीद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको अपर मस्र्याङदी–ए आयोजनाले निर्धारीत समयमै काम सकाएर विद्युत् उत्पादन थालिसकेको छ । भूकम्प र नाकाबन्दीको असरलाई छल्दै पनि आयोजनाले तोकिएकै काम सकाएर जलविद्युत् क्षेत्रमा ‘चिनीयाँ शैली’को नजिर बसाएको छ । मस्र्याङ्दी करिडोरको माथिल्लो मस्र्याङ्दी–ए र न्यादी आयोजनामा चिनियाँ लगानी र चिनियाँ कामदारको प्रयोग भएको छ । यही करिडोरमा दर्ता भएको दिव्यज्योति हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेंशी आयोजनामा विद्युत् क्षमता जोड्दा जडित क्षमता ८ सय ६८ मेगावाट रहेको छ ।

जलविद्युत्मा मस्र्याङ्दी पछि दोस्रो ठूलो सम्भावना बोकेको लमजुङको दोर्दी करिडोरमा पछिल्लो दुई वर्षमा जलविद्युत् आयोजना निर्माणले तीव्र गति लिएको छ ।   भूकम्प र नाकाबन्दीको असरलाई झेल्दै निर्धारित समयमै २ मेगावाट क्षमताको छ्याङ्दी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएको छ । आयोजना आफैंले निर्माण गरेको ट्रान्समिसनलाईनबाट उदीपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाईनमा जडान भइसकेको छ । छ्याङ्दी जलविद्युत् आयोजनाकै प्रवद्र्धनमा ४ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढीरहेको छ ।

यस्तै दोर्दी करिडोरअन्तर्गत हिमालयन पावर पार्टनर प्रालिद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजनाले हालसम्म ४५ प्रतिशत काम सकाइसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ५१ प्रतिशत र आईएमई गुप्रको ४९ प्रतिशत लगानीमा निर्माण भइरहेको यो आयोजना २०७५ असार मसान्त सम्ममा सक्ने लक्ष्य राखेको आयोजनाका प्रवद्र्धक गुरुप्रसाद ढकाल बताउँछन् । ४ अर्ब २३ करोड लगानी रहेको यो आयोजनाले जग्गा अधिग्रहणसहित ५ करोड सामाजिक र वातावरणीय क्षेत्रमा खर्च गर्नेछ । आयोजनाले निर्माणको गतीलाई तीव्र रूपमा बढाउँदै लगे पनि ट्रान्समिसन लाइनको अन्योलले समस्या पारिरहेको प्रवद्र्धक ढकाल बताउँछन् । उनले यो समस्या समाधान गर्न तत्कालका लागि मध्यमस्र्याङ्दी जोड्ने गरी तयारी थालिएको छ ।

लमजुङ विद्युत् विकास कम्पनी (लेड्कोले) निर्माण गर्न लागेको १०.३ मेगावाट क्षमताको दोर्दी जलविद्युत्–१, आयोजनाले दुई महिनाभित्रै काम थाल्ने गरी प्रक्रिया अगाडि बढाएको छ । कुल २ अर्बको लगानीमा निर्माण हुन लागेको यो आयोजना २०७६ सालमा सक्ने लक्ष्य छ ।

लिबर्टी इनर्जी कम्पनीले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए ले ४० प्रतिशत काम सकाइसकेको छ । २०६९ मा पीपीए सम्पन्न भएको यो आयोजनामा ४ अर्र्ब लगानी छ । सरकारले समयमै ट्रान्समिसनलाईन निर्माण सकाए यो आयोजना पनि २०७५ साउनमा सकिने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । ‘हामी निर्धारित समयमै काम सकाउने गरी लागिरहेका छौं,’ उनले भने, ‘सरकारले ट्रान्समिसन लाइन निर्माण गर्न तदारुकता देखाए उत्पादित विद्युत्को सदुपयोग हुने थियो ।’ यो आयोजनाले यस क्षेत्रको वातावरणीय र सामाजिक क्षेत्रमा ६ करोड गर्न खर्च गर्ने प्रवद्र्धक वस्तीले जानकारी दिए । यो आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्व नौ बैंकले लगानी गरेका छन् ।

पिपुल्स हाइड्रो प्रालीले निर्माण गर्न लागेको ४९.६ मेगाबाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत् आयोजनामा भूकम्पका कारण पुरानो बाँध भत्किएर २ सय मिटर आयोजनाको ‘हेड’ सार्दा ४.४ मेगावाट विद्युत् थपिएको छ । अब यो आयोजनाबाट कुल ५४ मेगावाट विद्युत् उत्पादन हुनेछ । २०७६ सालसम्म काम सक्ने लक्ष्यका साथ सुरु भएको सो आयोजना निर्माण चरणमा प्रवेश गरेको आयोजनाका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । २०७१ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको सो आयोनामा नबिल बैंकको अगुवाइमा नौ बैंकले लगानी गरेका छन् । आयोजनाले दुई चरणमा यहाँको वातावरणीय र सामाजिक क्षेत्रमा ११ करोड ८० लाख खर्च गर्नेछ ।

पिपुल्स हाइड्रो प्रालिकै प्रवद्र्धनमा ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन भइरहेको छ । नर्वेजियन कन्टसल्ट्यान्टबाट आयोजनाको प्रारम्भिक अध्ययन सकाइएको यो आयोजनाले अबको तीन वर्षभित्र काम थाल्ने गरी प्रक्रिया बढाउँदै छ । दोर्दी करिडोरकै सिरानमा २० मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजनाको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । दोर्दी करिडोरमा झन्डै २ सय मेगावाट विद्युत् जडित क्षमता छ ।

दोर्दी खोलामा मात्रै झन्डै १८ अर्बको लगानीमा चारवटा आयोजना निर्माणाधीन छन् भने २ मेगावाटको छ्याङ्दीले विद्युत् उत्पादन थालिसकेको छ । यस करिडोरको कुल जडित क्षमता १ सय १० मेगावाट रहेको छ । खुदी र मिदिम करिडोरमा पनि विभिन्न कम्पनीले ६० मेगावाटको हाराहारीमा विद्युत् उत्पादनको लक्ष्य लिएका छन् ।

जिल्लाका खोलानालाहरूमा विभिन्न क्षमताका आयोजनाहरू निर्माण गर्न सम्भाव्यता अध्ययन र कतिपय आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेका छन् । हालैको अनुमानमा यस जिल्लामा २५ सय मेगावाटसम्म विद्युत् उत्तपादन गर्न सकिने देखिन्छ । जलविद्युत्को यतिका सम्भावना रहेको यस जिल्लामा उत्पादित विद्युत् उपभोक्तासम्म लैजाने प्रसारण लाइनको अभाव रहेको छ ।

‘यसकारण अहिलेको अवस्थामा जिल्लामा उत्पादित विद्युत् खपत गराउन प्रसारण लाइन थप नगरी कुनै पनि नयाँ जलविद्युत् आयोजनाहरू बनाउन गाह्रो छ ।’ सुपर दोर्दी–ख का सञ्चालक अर्जुन गौतम भन्छन्,

‘लमजुङमा प्रसारण लाइन निर्माण अपरिहार्य छ ।’ जिल्लामा अहिले ७० मेगावाटको मध्यमस्र्याङ्दी, ४.४ मेगावाटको राँधी, ५ मेगावाटको सिउरी, ४ मेगावाटको खुदी, २ मेगावाटको छ्याङ्दीबाट विद्युत् उत्पादन भइरहेको छ ।

सुरक्षाको चुनौती

पूर्वी लमजुङको ढोडेनीको विकट क्षेत्र ताँजेमा पिपुल हाइड्रोपावरको प्रवद्र्धनमा बन्न लागेको ४९.६ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना ‘ख’मा पुग्न ठुलै जोखिम मोल्नुपर्छ । नौथरको शेराबाट सुपर दोर्दी–ख जलविद्युत्मा पुग्ने सडकको अवस्था निकै दयनीय छ । साँघुरो र हिलाम्मे सडकले गर्दा मालवाहक गाडीलाई यात्रा गर्न सहज छैन । भीरको बाटोमा ससाना घुम्तीलाई पार गर्न ठुला मालवाहक साधनले हम्मेहम्मे पर्छ । दोर्दी खोलामा एक वर्षमा सक्ने गरी निर्माण थालिएको पुल पाँच वर्ष बितिसक्दा पनि अझै निर्माण हुन सकेको छैन । पुल नबन्दा र गतिलो सडक नबन्दा यहाँ निर्माणको चरणमा रहेका थुप्रै आयोजनाले सास्ती खेप्दै आएका छन् ।

आयोजनामा सुरक्षाको भरपर्दो स्थिति छैन । स्थानीयले हाइड्रोपावरलाई राज्यझैं ठान्छन् । लिबर्टी इनर्जी पावर कम्पनीका प्रवद्र्धक राजेन्द्र वस्ती भन्छन्, ‘उनीहरूका सबै माग हाइड्रोपावरले पुरा गरिदिओस् भन्छन् । त्यो कसरी सम्भव छ ?’ उनले जलविद्युत् आयोजनाको प्रमुख चिन्ता सुरक्षा नै ठानेका छन् । ‘स्थानीयले आफ्नो माग पूरा नभए जे पनि गर्न सक्ने भए । जलविद्युत्को प्रमुख कारण असुरक्षा हो,’ उनले भने, ‘सरकारले जलविद्युत् क्षेत्रमा सेनाको सट्टा सशस्त्र प्रहरी परिचालन गर्ने नीतिगत निर्णय गरे केही सहज हुने थियो ।’

सुरक्षा चिन्ता गर्दै दोर्दी क्षेत्रमा सशस्त्रको क्याम्प राख्ने भनिए पनि अझै राख्न नसक्दा जलविद्युत्को क्षेत्रमा महŒवाकांक्षी लक्ष्यका साथ लागिपरेको सरकारले आफ्ना लक्ष्य र योजनालाई व्यवहारतः कार्यान्वयन गर्न नसकेको पिपुल हाइड्रोपावरका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतम बताउँछन् । ‘सरकारले नीतिमा मात्र ल्याएको छ, शान्ति सुरक्षाको बलियो प्रत्याभूति भने छैन । अहिलेसम्म ट्रान्समिसन लाइन बन्न सकेको छैन ।’ उनले ट्रान्समिसन लाइन बनाउन सरकारले ध्यान नदिने हो भने सरकारको लक्ष्य पूरा हुनै नसक्ने बताए ।

दोर्दी खोला जलविद्युत् आयोजनाका प्रवद्र्धक गुरुप्रसाद ढकाल पनि जलविद्युत् आयोजनाको प्रमुख समस्या ट्रान्समिसन लाइन र सुरक्षा नै भएको बताउँछन् । ‘जलविद्युत् आयोजनासँग स्थानीयको अपेक्षा उच्च छ,’ उनले भने,

‘आयोजनाको सीमित स्रोतले सबै पूरा गर्न असम्भव छ ।’ माग पूरा नभए आयोजना नै बन्द भएको घटना स्मरण गराउँदै उनले आयोजनाको सुरक्षामा सरकारको गम्भीर चासो हुनुपर्ने बताए । लमजुङमा क्रियाशील राजनीतिक दलहरूले पाँच वर्षअघि जिल्लालाई लगानीमैत्री वातावरण बनाउन जलविद्युत् आयोजनामा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाए पनि लगानीकर्ताको प्रमुख चासो भने अझै सुरक्षामा नै छ ।

‘हाइड्रो टुरिजम’ को सम्भावना

दोर्दी करिडोरमा लस्करै बनेका जलविद्युत् आयोजनाले त्यस क्षेत्रमा‘हाइड्रो टुरीजम’को सम्भावना बढाएको छ । हाइड्रो टुरिजमको अवधारणा भिœयाउन सके त्यहाँको पर्यटनमा विकासमा टेवा पुग्ने देखिन्छ । जलविद्युत् आयोजना निर्माणसँगै कुनैबेला विकट गाउँका रूपमा चिनिएका गाउँहरूमा बिस्तारै विकासका पूर्वाधारहरू पुगेका छन् ।

लिबर्टी हाइड्रोका सञ्चालक वस्ती भन्छन्, ‘दोर्दी करिडोरका धेरै गाउँमा बिजुलीबत्ती पुगेकै थिएन, यहाँ निर्माणाधीन आयोजनाहरूबाटै बत्ती बाल्न सहयोग गरेका छौं ।’ आयोजनाहरूबाट सहयोग भएको ३५ लाख रकम र स्थानीयले संकलन गरेको केही रकममार्फत अहिले त्यहाँ मेमेपोखरी विद्युत् उपभोक्ता संस्थामार्फत बिजुली बलेको छ ।