यौन विद्रोहको कथासंग्रह ‘नमस्ते काठमान्डु’

यौन विद्रोहको कथासंग्रह ‘नमस्ते काठमान्डु’

वेद राना मगर

यौन जैविक आवश्यकता हो । सृष्टि प्रक्रियाको निरन्तरताका लागि यो अपरिहार्य छ । सृष्टिको आरम्भदेखि यौन प्रक्रिया चलिआएकाले नै मानवको अस्तित्व पनि कायम रहिरहेको छ । पृथक् चेतना शक्ति भएका कारण मानवले यौनलाई व्यवस्थित ढंगले उपयोग गर्न जानेको छ । तथापि चेतनाको दुरूपयोग गर्दै कतिपय मान्छेबाट यौनलाई अव्यवस्थित, अप्राकृतिक बनाइएका घटना यत्रतत्र भेटिन्छन् ।  पछिल्लो समयमा यौनकथा लेख्ने कथाकारहरूको लहरमा डब्बु क्षत्री पनि देखिएका छन् । लामो समयदेखि यौनलाई विषय बनाएर कथा लेख्दै आएका डब्बु क्षत्रीले आफ्ना १८ कथा समेटेर कथाकृति ‘नमस्ते काठमान्डु’ पाठकमाझ ल्याएका छन् ।

‘ह्याप्पी न्यु इयर’मा एक सहरिया अधबैंसे महिलाले छोरा उमेरको पुरुषलाई यौन असन्तुष्टि  मेट्ने माध्यम बनाएको देखाई गिर्दो यौन सभ्यताको पर्दाफास गरेका छन् । ‘खोक्रो सान’मा महिलालाई यौन साधन देख्ने र छोरालाई मात्र महŒव दिने प्रवृत्तिको भण्डाफोर गरिएको छ । ‘सुब्बा साबको सकस’ले प्रशासनिक क्षेत्रमा कर्मचारीतन्त्रभित्रको यौनविकृतिको खुलासा गरेको छ । ‘नेपथ्य’ले आफ्नो सेक्स अपिल युवतीले इन्कार गर्दा युवकले अरूलाई नै रोजेको प्रस्तुतिबाट आत्मिकभन्दा मांसल प्रेम मौलाएको यथार्थता झल्काइएको छ ।

‘बिग्रेकी केटी’मा एक सांसदले  साथीकी छोरीले यौन प्रस्ताव इन्कार गर्दा नियोजित रूपमा चरित्र हत्या गरेकोबाट नारीहरू आफ्नै मान्छेबाट असुरक्षित रहेको सत्यउद्घाटन गरिएको छ ।

‘इन्टर्नसिप’ले पति हुँदाहुँदैयौनसुखका लागि बैंक हाकिम एक महिलाले इन्टर्र्निसपमा आएका तन्नेरीलाई यौनका लागि परिबन्धमा पारेको घटनामार्फत विकृत यौन मानसिकता भएका महिलाको हर्कत उदांगो पारेको छ । ‘बहुरूपी’मा आफूले मन पराएकी युवतीबाट थप्पड खाएका युवकले बनावटी प्रेम गरी यौन सम्बन्ध राखी बदला लिएको विषय छ । ‘टुँडालदेवी’ले बाबुछोरा दुवैबाट यौनशोषण भोगेकी र मालिक्नीले घरबाट निकालिँदा अलपत्र परेकी युवतीको विवशता छ ।

‘नमस्ते काठमान्डु’मा मीठो खाने र राम्रो लाउने सपनासहित सहर पसेकी नवीना नग्न नृत्य गर्न बाध्य भएकी र पछि त्यस्तै गर्नेहरूको हकहितका लागि कमरेड प्रज्वलामा रूपान्तरित भए पनि प्रहरी हिरासतबाटै बेपत्ता पारिएको घटना पस्किइएको छ । ‘मायाप्रेममा जे पनि चल्छ’मा पण्डितपुत्रले नोकर्नीसँग विवाह गरेको प्रसंग उनिएको छ ।

‘न्युड पेन्टिङ’मा फाइन आर्टका विद्यार्थीले प्रयोगात्मक अभ्यासका क्रममा कुनै महिलाको नग्न तस्बिर उतारेको, क्षणिक यौन आकर्षणमा परेको र मृत्युवरणको अप्रिय अवस्था आएको घटना छ । ‘मोनिकाको हत्या’मा एक अधबैंसेले पत्नीबाट यौनसुख नपाएपछि सेक्स डलबाट कामेच्छा मेट्ने गरेको र पत्नीले सेक्स डल धुजाधुजा पारेको घटना अदालतमा समेत बहसको विषय बनेको देखाइएको छ । ‘भर्चुअल लभ’मा सामाजिक सञ्जालको दुरुपयोग र बौद्धिक सम्पत्ति चोरीेको सवाल उठाइएको छ ।

‘मिसकल’मा पति विदशमा भएकी एक महिलाले आफ्नो छोराभन्दा कम उमेरको केटासँगको विवाह प्रसंग छ । कुनै केटीलाई विश्वास गर्न नसक्दा बिरक्तिएर कहिले जोगी, कहिले भिक्षुको भेष बदलेर भौंतारिहिँड्ने एक युवकको कथा हो ‘फिरन्ते’ । ‘सेतो गुलाब’ कथा कुनै एकल महिलाको स्वाभाविक यौनचाहनाको कठोर दमनको प्रतीकात्मक अभिव्यक्ति हो ।

‘त्यो झ्याल’ कथामा झ्यालको चेपबाट ढुंगेधारामा अर्धनग्न भएर नुहाइरहेको महिलाहरूको दृश्य अवलोकन गर्न पल्कँदा हुनेवाली पत्नी, अफिस, परिवार, पढाइ सबै त्याग्ने एक युवाको विकृत यौन मनोदशाको चि™फार छ । ‘हुसेन साबको हर्कत’मा यौन सम्बन्धका बेला पत्नी सलिमालाई निकै माया गरे पनि कसैसँग बोलेको देख्नेबित्तिकै पत्नीलाई शारीरिक र मानसिक यातना दिने हुसेनको शङ्कालु प्रवृत्तिको चित्रण छ ।