सहाना प्रधान ऐतिहासिक दस्तावेज

सहाना प्रधान ऐतिहासिक दस्तावेज

प्रतिरोध कार्की

नेपालको कम्युनिस्ट आन्दोलन र महिला आन्दोलनको एक नाम हो सहाना प्रधान । उनकै सम्झनामा लेखक गोविन्द ज्ञवालीले ‘राष्ट्रिय जीवनमा सहाना प्रधान’ पुस्तक प्रकाशित गरेका छन् ।

निरंकुश राणा शासनको अन्त्यका लागि गरिएको संघर्ष वा पञ्चायतविरुद्ध गरिएका संघर्षमा अनवरत जोडिने एउटा संघर्षशील महिलाको नाम हो सहाना प्रधान । त्यही सिलसिलामा लेखक ज्ञवालीले उनको जीवनका विभन्न पाटाहरूलाई उजागार गर्ने प्रयास गरेका छन् । राष्ट्रिय परिवेशमा अत्यन्तै महŒवपूर्ण दस्तावेज मानिने यो पुस्तकमा सहाना प्रधानको बाल्यकालदेखि जीवनको अन्त्यकालसम्मका केही विवरण समेटिएका छन् ।

एमालेका वैकल्पिक केन्द्रीय सदस्य सूर्य थापाले पुस्तकको भूमिकामा सहाना प्रधानको ऐतिहासिक सन्दर्भ समेटेका छन् भने पुस्तक संग्रहणीय बनेको छ । १७ वैशाख २००४ मा नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान थिए । त्यतिबेला उनीहरूले राणा विरोधी नारा लगाउँदा गिरफतारमा परे । १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्केका थिए । २००४ सालमा एसएसलसी उत्तीर्ण गरी २००५ मा भाइ शंकर प्रधानसँगै लखनउको इजावेल धोवन कलेज पुगेकी सहाना आईएस्सी पूरा नगरी आईए सकेपछि नेपाल फर्केको उनीसँग सम्बन्धित लेखहरूमा उल्लेख गरिएका छन् । उनले २००७ सालमा नेपाल फर्केर तीनवटा स्कुल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कुलमा पढाएकी थिइन् । ती विषयलाई पनि पुस्तकमा समेट्ने प्रयास गरिएको छ ।

सहाना प्रधान आफैंमा एक जीवन्त इतिहास बोकेकी महिना हुन् । महिला संघको महासचिव, २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गरेकी थिइन् । २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएका ७२ परीक्षार्थीमध्ये उनी एक थिइन् । २ माघ २०१० मा पुष्पलाल श्रेष्ठसँग विवाह भएपछि उनको राजनीतिप्रतिको लगाव झन् बढ्दै गएको देखिन्छ । पुष्पलाल राजनीतिमा सक्रिय भएकाले २०१३ सालपछि पारिवारिक जिम्मेवारी बढेको देखिन्छ ।

लेखक ज्ञवालीले पुस्तकमा प्रधानको राजनीतिक, सामाजिक विषयवस्तुमाथि पनि प्रकाश पार्ने जमर्को गरेको देखिन्छ ।  २०१७ देखि २०३५ सालमा उनको राजनीति प्रायः मृत अवस्थामा रह्यो । ७ साउन २०३५ (सन् १९७८ जुलाई) मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उनी पार्टी प्रवक्तासमेत भइन् । १४ चैत २०४३ मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिस्ट पार्टी (माक्र्सवादी) गठन गर्दा उनी पार्टीको सचिवसमेत भइन् । यसरी कम्युनिस्ट आन्दोलनमा उनको योगदान अतुलनीय रहेको छ ।

२२ चैत २०४७ मा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) र नेकपा (माक्र्सवादी) एक भई नेकपा एमालेको निर्माण गरियो । २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्यमन्त्री, २०४८ र २०५१ सालको संसद्को निर्वाचनमा क्रमशः काठमाडौं क्षेत्र ४ र ६ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य भइन् । त्यसअघिको नेकपा (एमाले) र राप्रपा सद्भावनाको मन्त्रिपरिषद्मा उनी महिला तथा समाजकल्याणमन्त्री भएकी थिइन् । जनआन्दोलन २०४६ मा वाममोर्चा अध्यक्ष, आन्दोलनपछि अहिलेसम्म पटकपटकमन्त्री भएकी सहाना प्रधान महिला आन्दोलनको क्षेत्रमा मात्रै होइन, वामपन्थी आन्दोलनमा पनि अतुलनीय योगदान रहेको छ ।