आज पनि भारी वर्षाको सम्भावना , सुरक्षित रहन बाढी पूर्वानुमान शाखाको आग्रह

सविन शर्मा / काठमाडौं

तीन दिनदेखि जारी मनसुन आइतबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक वर्षासँगै बाढीपहिरोको जोखिम बढ्ने भएकाले सुरक्षित हुन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् । मौसमविद् सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारीरहने बताए ।‘मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ,’ उनले भने,

‘आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’ मनसुनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्रनजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा विद्यमान रहेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

‘मुलुकका तराईदेखि महाभारतसम्मको क्षेत्रमा शुक्रबार दिउँसोदेखि भीषण वर्षा सुरु भई शुक्रबार राति कन्काई, मोहनालगायतमा जलसतहले खतराको सीमा पार गरेको छ,’ बाढी पूर्वानुमान शाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले भने, ‘शुक्रबार मध्यराति पश्चिम राप्तीको कुसुममा र शनिबार बिहानदेखि साँझसम्मै बबईको चेपाङ जलमापन केन्द्रमा जल सतहले खतराको तह पारेको छ ।’

उनका अनुसार शनिबार राति ८ बजेसम्म खतराको तह पार गरिरहेको बबईको तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सूचना दिइएको छ । पश्चिम राप्तीको सुकममा पनि शनिबार मध्याह्नसम्म खतराको सीमा पार गरेको उनले जानकारी दिए ।

यस्तै शनिबार बेलुका साढे ५ बजे पूर्वी राप्तीको नदीको रजैयास्थित जलमापन केन्द्रमा जलसतहले चेतावनीको तह पारे गरेको थियो । त्यस क्षेत्रमा वर्षा भइरहेकाले आइतबारसम्मै जोखिम हुनसक्ने शाखाले जनाएको छ । यस्तै बागमती नदीको तल्लो तटीय क्षेत्र रौतहट र सर्लाहीका क्षेत्रमा पनि नदी तटीय क्षेत्रमा डुबान भएकाले त्यस क्षेत्रमा अझै डुबान बढ्ने भन्दै शाखाले सुरक्षित स्थानमा बस्न सबैलाई अनुरोध गरेको छ । आइतबारसम्म विशेष गरी पूर्वी भागमा भारी वर्षा हुने र अन्य भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शाखाका अनुसार पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटामा बाढीपहिरोको सम्भावना भएकाले नदी तटीय क्षेत्रका मानिसलाई सुरक्षित हुन आह्वान गरिएको छ ।

यस्तै मध्यको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु र पश्चिममा कञ्चनपुर, कैलाली र बर्दियाका मुख्य रूपमा चुरे र महाभारतबाट बग्ने मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बाग्मती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ बाणगंगा र पश्चिममा मछेली, मोहना, बबईलगायतमा शनिबारसम्म अति उच्च जोखिम हुने भएकाले सचेत र सुरक्षित हुने शाखाले आह्वान गरेको छ ।

शनिबार दिनभरमा सबैभन्दा बढी सिमरामा २ सय १७ दशमलव २ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शनिबार नेपालगन्जमा १ सय ६९ दशमलव ३ मिलिमिटर, दाङमा १ सय ६७ दशमलव ४, जनकपुरमा १ सय ३७ दशमलव ६ वर्षा भएको थियो । यस्तै भैरहवामा ३९ दशमलव ६, काठमाडौंमा ३० दशमलव ५, वीरेन्द्रनगरमा २६ दशमलव ५, ओखलढुंगामा १८ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै ताप्लेजुङमा १५ दशमलव ४, धनगढीमा १३ दशमलव ३, लुम्लेमा ११ दशमलव ७, पोखरामा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो ।

 

 

स्वास्थ्यकर्मी हाइअलर्टमा

काठमाडौं / रास– स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई छुट्टीमा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले तालिम, भेला, गोष्ठीलगायत सम्पूर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४सै घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था मिलाउन विशेष निर्देशनसमेत दिएको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले शनिबार विज्ञप्तिमार्फत करिब ६० प्रतिशत बजेट स्थानीय तहमै रहेकाले बाढीप्रभावित तथा पीडितलाई सहज रूपमा सेवा पाउने व्यवस्था मिलाउनसमेत अनुरोध गरेका छन् । मन्त्री पोखरेलले बाढीपहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगत गरी अनशनरत डा.गोविन्द केसीलाई अनशन अन्त्य गरेर सम्पूर्ण स्वास्थ्यकर्मीलाई बाढीप्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा  जुट्न उत्प्रेरित गरिदिन विशेष अपिल पनि गरेका छन् ।

मन्त्रालयले विषम परिस्थितिमा बाढीपहिरोबाट विस्थापित, घाइते एवं प्रभावितमा औषधि तथा उपचारबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन, यसपछि उत्पन्न हुने झाडापखाला, हैजा, आउँ, जन्डिसलगायत रोगव्याधि तथा महामारी फैलन सक्ने सम्भावनाप्रति अहिलेदेखि नै सतर्क रहन सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीलाई अनुरोधसमेत गरेको छ ।