अनशन तोड्न आग्रह

काठमाडौं / रास– उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले २० दिनदेखि आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

डा. केसीले उठाएका मागलाई सम्बोधन गर्दै संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले शुक्रबार पारित गरी संसद्को पूर्ण बैठकमा पठाइसकेको भन्दै अनशन तोडेर सहयोग गर्न उनीहरूले आग्रह गरेका हुन् ।

संसद्को पूर्ण बैठकबाट पारित भई बन्ने चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने  उल्लेख छ ।

यस्तै हाल अस्पतालको रूपमा सञ्चालित पाँचवटा अस्पताललाई मेडिकल कलेज बन्ने बाटो खुल्ने गरी विधेयक संसदीय समितिबाट पारित भए पनि डा. केसीले शनिबारसम्म अनशन तोडेका छैनन् ।

डा. केसीले जस्तै अस्थायी शिक्षकहरूले केही दिनदेखि आफ्नो माग राख्दै बसेको आमरण अनशनलाई पनि आफूले छिट्टै सम्बोधन गर्ने पनि शिक्षामन्त्री श्रेष्ठले भने । उता स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पनि अनशनरत डा. केसीलाई देश बाढीपहिरोको चपेटामा परेको जटिल अवस्थामा चिकित्सकहरू आन्दोलनमा रहनु राम्रो नभएको बताउँदै तत्काल अनशन तोड्न आग्रह गरेका छन् ।

डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउने भन्दै यतिखेर मुलुकका निजी र सरकारी अस्पतालका चिकित्सक सबै अस्पतालका इमरजेन्सीबाहेकका सेवा बन्द गरेर हडतालमा उत्रिएका छन् ।

समर्थनमा ¥याली

 

डा. केसीले उठाएका माग सम्बोधन गर्न दबाब दिन उनका पक्षधरले शनिबार पनि माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध ¥याली गरेका छन् । केसी ११औं पटकको आमरण अनशन बसेको शनिबार २० दिन पुगेको छ । उनकोे स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर हुँदै गएको भन्दै भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन् ।

डा. केसीका माग सम्बोधन गर्नेगरी संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले शुक्रबार पारित गरी संसद्को पूर्ण बैठकमा पठाएको चिकित्सा शिक्षा विधेयकमा अझै केही त्रुटि रहेको भन्दै डा. केसीका समर्थक, चिकित्सक, विद्यार्थी, सर्वसाधारणले उनको अनशनको तेस्रो शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वर संसद् भवन बाहिरसम्म बृहत् विरोध ¥याली निकालेका हुन् ।