अधिकांश भागमा बाढीको वितण्डा ३३ को मृत्यु, चार जना बेपत्ता, सयौं विस्थापित

राजधानी समाचारदाता / काठमाडौं

मुलुकका अधिकांश भागमा आएको बाढीपहिरोका कारण ३३ ले ज्यान गुमाएका छन् । पूर्वी र मध्य तराईका जिल्लामा आएको बाढीले सयौं परिवार घरबारविहीन भएका छन् ।

गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सुनसरीमा सात, झापा, बाँके, पाँचथर र सिन्धुलीमा ४÷४, मोरङमा ३, बारा र सर्लाहीमा २÷२, दाङ, मकवानपुर र पाल्पामा १÷१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् ।

बाँकेको डुडुवा गाउँपालिका–२ स्थित डडुवा नदीमा आएको बाढीले बेतहनी बजार र उचुवा जोड्ने पुल बगाएपछि बाढीमा फसेकालाई उद्धारका लागि पालो पर्खंदै सुरक्षाकर्मी र स्थानीय । तस्बिर : रुद्र सुवेदी

मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाका अनुसार कन्काई, सप्तकोसी, माडी, नारायणी, बबई, पश्चिम राप्तीलगायत नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेपछि ती नदीमा आएको बाढीले कैयौं घर डुबानमा पारेको हो । नदीहरूमा आएको बाढी गाउँमा पस्दा झापा, मोरङ सुनसरी, सप्तरी, रौतहट, सर्लाही, दाङ, बाँकेसहित जिल्लाका बस्ती डुबानमा परेका छन् । मन्त्रालयले तराई मधेसका जिल्लामा डुबानको खतरा कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रका नदीमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सतह बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथिपुगिसकेको छ ।

मन्त्रालयका अनुसार बाँकेको नारायणपुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारण गाउँ डुबानमा परेपछि सुर्खेतबाट उद्धारका लागि नेपाली सेना त्यसतर्फ गएको छ । बाढीबाट त्यहाँ ४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारण जनजीवन प्रभावित भएको छ । डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको मन्त्रालयले जानकारी गराए पनि भारी वर्षाका कारण समयमै राहत तथा उद्धार कार्यमा समस्या आएको छ ।

ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन र बाँके जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा डुबानमा परेका इलाकामा तैनाथ नेपाली सेनाका युनिटहरू खोज तथा उद्धार कार्यमा सक्रियताका साथ खटिइरहेको सैनिक प्रवक्ता सहायक रथि झंकर कडायतले बताए । उनका अनुसार बढी प्रभावित सुनसरी र मोरङमा शुक्रबार मध्यरातबाटै खोज तथा उद्धारका लागि पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतका फौज परिचालित भइरहेका छन् ।

सुनसरीमा डुबानमा परी चार सर्वसाधारणको मृत्यु भएको र करिब ५ सय घर डुबानमा परेको सेनाले जनाएको छ । डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगका लागि फौज परिचालन गरिएको हो । सो कार्यका लागि पूर्वी पृतना हेडक्वार्टर इटहरीमा रहेको एलुबेट हेलिकोप्टरसमेत प्रयोग गरिएको थियो ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा शुक्रबार रातीदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोबाट मृत्यु भएका चार जनाको शवलाई श्री मध्य पृतना हेडक्वार्टरअन्तर्गत श्री चण्डी दल गणबाट खटिएका सेनाले पहिरोबाट निकाल्न र सोही पहिरोमा परेका एक जना सर्वसाधारणको जीवितै उद्धार गर्ने कार्यमा सहयोग पु¥याएको थियो ।

त्यस्तै बाँकेको राप्ती नदीमा आएको बाढीमा परेर डुबेको अवस्थामा एक पुरुषको शव भेटिनुको साथै सोही ठाउँमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका तीन जना बालिकाको मृत्यु भएको छ ।

राप्ती सोनारी–४ लालपुरका कविराज थारूको घरमा बाढीको पानी पसेर घर भत्किँदा कविराजकी १२ वर्षीया अञ्जु थारू, नौ वर्षकी सरिता थारू र सात वर्षकी सुस्मिता थारूको घरले पुरिएर मृत्यु भएको हो । पानीमा डुबिराखेको अवस्थामा भेटिएको शवको भने सनाखत हुन सकेको छैन ।

आयल निगमको कम्पाउन्ड वाल भत्कियो

विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरको कम्पाउन्ड वाल भत्किएको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरको ब्यारेक भवन तथा कार्यालयमा पानी पसेको, रतुवामाई नगरपालिका–५ स्थित प्रहरी चौकी गोविन्दपुरमा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर पानी पसेको छ । विराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ नम्बर वडामा वर्षाको पानी पसेर करिब ६ सय घरपरिवार बस्न नमिल्ने भएको, रतुवामाई नगरपालिका–७, ८, ९ र ५ स्थित रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा खोलाको पानी पसेर करिब ७ सय घरपरिवार विस्थापित भएका, धनपालथान गाउँपालिका–‍६ स्थित लोहोन्दा खोलाको बाँध फुटेर बस्तीका १ सय ५० घर डुबानमा परेका र रंगेली नगरपालिका–३ आमतोलामा ४ घरमा पानी पसेर क्षति पुगेको छ ।

यसैगरी मोरङकै बुढीगंगा गाउँपालिका–२ बौराहा टोलमा अविरल वर्षाको कारण बुढीखोलाको बाढी पसेर करिब १ सय ५० घर, सोही गाउँपालिका–३ तथा मुडेरी टोलस्थित करिब १ सय ५० घर र सोही गाउँपालिका–५ दिपुटोलमा करिब ५० घरसमेत डुबानमा परेका छन् । पीडितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । मोरङकै बेलबारी नगरपालिका–५ स्थित लोहन्द खोलामा रहेको पक्की पुल र पुलको छेउमा रहेको कसेनी एरियातर्फ पानी लाने नहरको सुरुङसमेत बगाएको छ ।

सेनाको रेस्क्यु टिम तयारी अवस्थामा

देशभर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी उद्धारका लागि खटिएका छन् । बाढीबाट बढी प्रभावित बाँकेमा समेत खोज तथा उद्धार कार्यका लागि श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरअन्तर्गत श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा रहेको एमआई १७ हेलिकोप्टर खोज तथा उद्धार कार्यमा प्रयोग गरिएको छ ।

स्थानीयको खोज तथा उद्धार कार्यमा थप मद्दतका लागि दुईवटा आउटबोर्ड मोटर (मोटरबाट चल्ने डुंगा) र एउटा रबर बोटलगायत अन्य आवश्यक इक्विमेन्टसहित काठमाडौंस्थित श्री रेन्जर गणबाट तीनवटा डिजास्टर एसिस्टेन्ट एन्ड रेस्क्यु टिम र युद्ध भैरव गणबाट तीनवटा उद्धार टिम गरी जम्मा सय जना गौचरस्थित त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा तयारी हालतमा राखिएको छ ।

उद्धार गर्न गएका प्रहरी चार घण्टा रूखमा

बाँकेमा उद्धार गर्न गएका प्रहरी टोली नै पिपलको रूखमा चढेर बाँच्न सफल भएका छन् । बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरस्थित पानीको बहाव बढेकाले नेपाल राष्ट्रिय प्राविको छतमा बसेका एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । ती व्यक्तिको उद्धार गर्न दुई जना प्रहरी जवान पौडी खेल्दै गएकोमा तत्काल पानीको बहाव बढेपछि उनीहरूसमेत सोही छतमा अड्किएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार प्रहरी र ६ जना स्थानीय गरी १० जना डुंगा चढी गएकोमा डुंगा पल्टन जाँदा सबै टोली पौडिएर नजिकै रहेको पीपलको रूखमा चढेर बच्न सफल भएका थिए ।  सो टोली करिब चार घण्टा रूखमा बसेको र पानीको बहाव घट्दै गएपछि ती व्यक्तिको उद्धार गरिएको हो । बाँकेकै सोनारी गाउँपालिका–१ स्थित गाभर खोलामा आएको बाढीले खोलाको पुलको पूर्वतिरको भाग कटान गरी पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।

      जनकपुर र विराटनगर विमानस्थल डुबानमा

      धनुषाका दर्जन बढी गाउँ डुबानमा

      सप्तरीका एक दर्जन बढी सडक क्षतिग्रस्त

      सिरहाका एक सय बढी घर डुबानमा

      पानीको बहाव बढेपछि कोसीमा रातो बत्ती

      सुनसरीमा १० हजार बढी व्यक्ति बाढीमा फसे

      नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं / रास– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितलाई राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा खटिन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायता अधिकारीहरूलाई बोलाएर प्रभावित क्षेत्रमा तत्कालै उद्धार हुने गरी काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरू आफैं नै प्रभावित क्षेत्रमा नगएसम्म प्रभावकारी रूपमा काम नहुने भन्दै आफैं उपस्थित भएर उद्धारमा सक्रियता देखाउन भनेको प्रधानमन्त्रीको निजी स्वकीय सचिवालयले जनाएको छ ।  ‘बाढीले तराईमा ठूलो धनजनको क्षति पुगेको छ,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने,

‘तपाईहरू अब काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्धारमा एकीकृत भएर काम गर्नुस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो ।  रक्षामन्त्री भीमसेनदास प्रधानले बाढीका कारण ढुबानमा पर्न सक्ने थप क्षेत्रको समेत पहिचान गरेर सो क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन निर्देश गरिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढीप्रभावित क्षेत्र ८० प्रतिशत ढुबानमा परेको तथ्यांक पेस गरेका थिए । उनले मौसमका कारण हेलिकोप्टरबाट समेत उद्धार गर्ने कार्य अघि बढाउन नसकिएको ब्रिफिङ गरेका थिए । बैठकमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको बताउँदै मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्धार टोली खटाइएको जानकारी गराएका छन् । सरकारले स्थानीय प्रशासनलाई समेत प्रभावित स्थानका बासिन्दालाई खानेकुराको बन्दोबस्त मिलाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सहयोग प्रदान गर्न निर्देशन दिएका हुन् ।

उद्धारमा जुटे दल

काठमाडौं / रास– अविरल वर्षाका कारण आएको बाढीले पीडित भएकाहरूलाई उद्धार एवं राहत उपलब्ध गराउन राजनीतिक दलहरू जुटेका छन् । विगत तीन दिनयता परेको अविरल वर्षाले तराई मधेसमा बाढीले र पहाडमा पहिरोले ३० भन्दा बढीको मृत्यु र सयौं घरपरिवार विस्थापित भएपछि दलहरू उद्धार र राहतमा सक्रिय भएका हुन् ।

सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालका साथै अन्य साना दलका स्थानीय नेता, युवा, विद्यार्थी संगठन बाढीपीडितको उद्धार एवं सहयोगमा जुटेका छन् । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दलहरूले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बाढीपीडितको उद्धार र राहतमा सक्रिय हुन सरकारसँग आग्रहसमेत गरेका छन् । कांग्रेसले बाढीपीडितलाई लत्ताकपडा, खाना र बस्ने स्थानको समस्या परेका कारण पीडितको उद्धार गर्न र राहत उपलब्ध गराउन स्थानीय नेतालाई निर्देशन दिएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार पार्टीका स्थानीय निकाय तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई तुरुन्त घटनास्थलमा पुगेर पीडित परिवारको उद्धार र राहत उपलब्ध गराउने कार्यमा जुट्न निर्देशन दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका स्थानीय नेताका साथै जनवर्गीय संगठनहरूलाई निर्देशन दिँदै बाढीपीडितको उद्धार एवं राहत उपलब्ध गराउने अभियानमा जुट्न निर्देशन दिएको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बाढीपीडितको उद्धार एवं राहत उपलब्ध गराउनमा निर्देशन दिएको बताए । एमालेले बाढीपीडितको उद्धार, आवास, खाना, कपडाको व्यवस्था गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । एमालेका स्थानीय नेता, युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघलगायत जनवर्गीय संगठनका नेता बाढीपीडितको उद्धारका साथै राहत उपलब्ध गराउन जुटेका छन् ।

युवा संघ नेपाल बाराकी प्रचार विभाग प्रमुख अनिता साहले जिल्लामा बाढीले हजारौं घरपरिवार पीडित भएको बताउँदै उनीहरूको उद्धार एवं राहत उपलब्ध गराउने काममा संघ लागेको बताइन् ।

सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, धनुषा, महोतरी, रौतहट, बारा, पर्सालगायत जिल्लामा केही दिनयता बाढीपीडितको संख्या बढ्दै गएकाले उद्धार एवं राहत कार्यमा जुट्न स्थानीय नेतालाई निर्देशन दिएका छन् ।

तत्काल बेपत्ताहरूको खोजी गर्न तथा उद्धार र राहतका लागि माओवादीले सरकारसँग माग गरेको छ । माओवादी प्रवक्ता पम्पा भुसालले माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र युवा संगठन वाईसीयलका नेता तथा कार्यकर्ता उद्धारमा खटिसकेको बताइन् ।

राजपा नेपालका उपाध्यक्ष सत्यनाराण मण्डलले बाढीपीडितको उद्धारमा पार्टी सक्रिय रूपमा लागेको बताए । मधेसका जिल्लामा बाढीपीडित हुनेको संख्या धेरै नै रहेकाले स्थानीय नेता उद्धार एवं राहत उपलब्ध गराउनेमा जुटेको बताएका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले फोरम नेपाल देशैभर रहेका बाढीपीडितको उद्धार एवं राहत उपलब्ध गराउनेमा स्थानीय नेता, कार्यकर्ता अन्य सहयोगी संगठनसँग मिलेर अगाडि बढेको बताए । राजपा र फोरमले बाढीपीडितको उद्धार गर्न, राहत उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन् । प्रमुख राजनीतिक दलका साथै साना दलका स्थानीय नेता, कार्यकर्तासमेत बाढीपीडितको उद्धारमा जुटेका छन् ।

बाँध खोल्न भारतलाई आग्रह

काठमाडौं / रास– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधका सबै ढोका खोल्न भारतलाई आग्रह गरेका छन् ।  सीमा क्षेत्रमा पर्ने सबै स्थानमा बाढीले वितण्डा मच्चाएपछि महराले नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई कोसीलगायत सबै बाँधका ढोका खोल्न आग्रह गरेका हुन् ।

महराले नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीलाई शुक्रबार टेलिफोन गरेर वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सीमाका बाँधको ढोका खोल्न आग्रह गरेकोे उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीका कारण थप भूभाग जनधनको क्षतिबाट जोगाउन  बाँधको ढोका खोल्न आग्रह गरिएको हो । सप्तकोसी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गरेका हुन् ।