मुस्ताङमा हावाबाट बिजुली उत्पादन , ओलीले गरे उद्घाटन

राजधानी संवाददाता / मुस्ताङ

मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत् उत्पादन गर्ने परियोजनाको उद्घाटन भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले शनिबार परियोजनाको उद्घाटन गरेका हुन् ।
हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टि भएकोमा खुसी व्यक्त गर्दै ओलीले भने, ‘नवलपरासी र मकवानपुरमा पनि यस्ता आयोजनाको सम्भावना छ ।’


बुद्ध पावर प्रालिले हावाबाट तीन किलोवाट विद्युत् उत्पादन गरेको हो । स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार पुष्कर तिमिल्सेनाको पहलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा केही महिनाअघि योजना निर्माण भएको थियो ।
स्पेनिस प्रविधि प्रयोग गरेर विद्युत् उत्पादन गरिएको हो । फलामको अग्लो खम्बाको टुप्पोमा राखिएको मदानी प्रकृतिकै पंखालाई हावाले घुमाएर बिजुली उत्पादन गरिएको हो । हावाबाट निकालिएको विद्युत् जिल्ला प्रहरी कार्यालयमा प्रयोग गरिएको छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले मुस्ताङस्थित कोरला नाका सञ्चालनमा ल्याउन चीन सरकारसँग उच्च प्राथमिकतासाथ छलफल अघि बढाएको जानकारी दिए । ओलीले शनिबार नै कोरला नाका क्षेत्रको अवलोकनसमेत गरेका थिए ।
ठूलो संख्यामा एमाले प्रवेश मुस्ताङमा विभिन्न पार्टी परित्याग गरी १५ सय बढी एमाले प्रवेश गरेका छन् । शनिबार नै एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओली, सांसद् श्रीमाया थकाली, महेन्द्र शेरचन, एमाले मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचनले संयुक्त रूपमा उनीहरूलाई एमाले प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका तल्लो मुस्ताङका तीन गाउँपालिकाका विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
एमालेमा प्रवेश गर्नेमा पूर्वजिविस सभापति तथा कांग्रेस जिल्ला समिति संस्थापक सदस्य आनन्दलाल शेरचन, कांग्रेस नेताहरू प्रेमप्रसाद तुलाचन, नरसिंह शेरचन, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन , मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मिनप्रसाद थकाली, प्रेम नन्दुल गुरुङसहित कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका नेता कार्यकर्ता छन् । कार्यक्रममा ओलीले मुलुकको समृद्धि एमाले नेतृत्वमा मात्रै सम्भव हुने बताए ।