उद्धारमा जुुटौं

उद्धारमा जुुटौं

लगातारको वर्षाले देशभर ३० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । वर्षायाममा सर्वसाधारणले हरेक वर्ष यसैगरी ज्यान गुमाउनुपरेको छ । हरेक वर्ष राजमार्ग, तराईका समथर भूभागदेखि पहाडी र हिमाली जिल्लामा समानान्तर असर गरिरहन्छ । प्राकृतिक चक्र भएका कारण रोक्न नसके पनि पूर्वसर्तकता अपनाउन भने सकिन्थ्यो । तर पछिल्ला दिन पूर्वसतर्कता त देखिएन नै, बाढीपहिरोपीडितबाट ज्यान गुमाएकाको परिवार र पीडित  परिवारले राहतसमेत पाउन सकेका छैनन् । न त सुरक्षित बासस्थानका लागि पहल नै भएको छ ।

हरेक जिल्लामा दैवीप्रकोप उद्धार समिति छ । कतिपय जिल्लामा, समितिमा उद्धार र राहतका लागि हात जोड्न पुगेका सर्वसाधारणलाई ‘मरेपछि सम्पर्क राख्नु’ भन्ने जस्ता अत्यन्तै गैरजिम्मेवार र आपराधिक मनोवृत्ति प्रेरित जवाफ दिइएका घटना पनि सार्वजनिक भएका छन् । पीडाका बेला नै जनताले राज्यको छत्रछाया खोज्ने हो । पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्र बाढीपहिरोबाट प्रताडित भइरहँदा तत्काल दैवीप्रकोप उद्धार समिति र सुरक्षा संयन्त्रलाई चुस्त र तयारी अवस्थामा त राखिएको छैन नै । पीडितहरूको उद्धार कार्यमा समेत उदासीनता देखिन्छ । जसका कारण कतिपय स्थानमा बाँच्ने सम्भावना भए पनि उद्धार अभावमै धेरैको ज्यान गएको छ । मुलुकमा मौसम पूर्वानुमानको बेग्लै संयन्त्र छ । जसले खतराको चेतावनी दिए पनि त्यो पर्याप्त हुन सकेको छैन । विराटनगर विमानस्थलसहित पूर्वका सबै जिल्ला हुँदै तराईका भूभागमा यसपटक बाढीले बढी नराम्ररी क्षति पु¥याएको छ । ती स्थानमा खतरामा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा सार्ने, पीडितलाई क्षतिपूर्तिको व्यवस्था र पहल गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिले विलम्ब गर्नुहँुदैन ।

मुलुक बाढी र पहिरोको जोखिममा परेको बेला सबभन्दा बढी संवेदनशीलता राजनीतिक दलले देखाउनुपर्छ । जसरी विनाशकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणमा दलहरूले कार्यकर्ता परिचालन गरे । यसपटक पनि उसैगरी परिचालन गर्न विलम्ब गर्नुहुन्न । राजनीतिक दलले तत्काल पीडित क्षेत्रमा पुगेर राहत र उद्धारको पहल थाल्नुपर्छ । यो विषम परिस्थिति दल र तिनका प्रनिधिहरूका लागि जनता आपत विपतमा पर्दा संवेदनशील देखाउने अवसर पनि हो । सरकारका सबै संयन्त्र परिचालन गर्न विलम्ब गर्नुहँुदैन । सुरक्षा संयन्त्रलाई साधनसम्पन्न बनाई तत्काल प्रकोप प्रभावित क्षेत्रमा परिचालन देखिने तहमा गर्नुपर्छ । सरकारले यो बेला स्वयंसेवा महाअभियानको घोषणा गरेर प्रभावित क्षेत्रमा थप मानवीय क्षति हुनबाट जोगाउनुपर्छ । यो अभियानमा राजनीतिक दल, तीनका भ्रातृ संगठन पूर्ण रूपमा परिचालित भए मात्र उनीहरू जनताको असल सेवक ठहरिनेछन् ।