ताप खोलामा बालकको शव फेला

खोटाङ / रास– खोटाङमा एक बालकको शव फेला परेको छ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका ७ वर्षीय रोविन राई मृत फेला परेका हुन् ।

गत २३ साउनबाट हराइरहेका बालक रोविनको शव केपिलासीगढी गाउँपालिका–५ स्थित तापखोलामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार माछा मार्न गएका स्थानीयले बालकको शव ताप खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।