दाउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध

नवलपरासी / रास– लगातार परेको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प हुने अवस्था आएको छ ।

गए राति साढे १० तिर पहिरो गएपछि सो क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । शनिबार दिउँसो दाउन्नेको एस मोड क्षेत्र र खुर्सानी खोलाको बीच भागमा सडक भासिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिए । करिब १५ मिटर जति सडक भासिएको जानकारी दिँदै प्रनि रावतले भने, ‘राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि सडक सुचारु हुने अवस्था छैन ।’ सडक भासिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन् ।

यसैबीच जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख धमेन्द्र रावलले दाउन्ने पूर्वका पहिरो हटाउने काम सकिएको बताए । उनले दाउन्ने पश्चिमका पहिरो हटाउने क्रम सुरु भएको र शनिबार अबेरसम्म पहिरो पन्छाउने काम भने सकिने जानकारी दिए ।

अहिले पूर्वबाट आएका यात्रुलाई पैदलै बर्दघाटतर्फ पठाइएको र पश्चिमबाट आएका यात्रुलाई पैदल पश्चिमतर्फ पठाइएको उनले बताए । जिल्ला ट्राफिक प्रमुख रावलका अनुसार १५ मिटर जति सडक भासिएकाले तत्काल चारपांग्रे सवारीसाधन पास हुने अवस्था छैन । अहिले पैदल यात्रु र मोटर साइकलका यात्रु ओहोरदोहोर गर्न सुरु भए पनि मोटरसाइकलभन्दा ठूला सवारीसाधन भने सञ्चालनमा आउन सकेको छैन ।

भासिएको सडक निर्माण कार्य ट्राफिक प्रहरीको क्षमताभन्दा बाहिर रहेको उनले बताए । यसका लागि सडक डिभिजन कार्यालयमा जानकारी गराएको बताउँदै प्रमुख रावलले भने, ‘पहिरो पन्छ्याएर सडक सञ्चालनमा आए पनि ठूला तथा चारपांग्रे सवारीसाधन भने सञ्चालन गर्न सकिँदैन ।’ यसैबीच सडक डिभिजन कार्यालय बुटवलले अवरुद्ध सडक खुलाउन प्रयास सुरु गरेको इन्जिनियर युवराज पाण्डेले जानकारी दिँदै भने, ‘त्यसका लागि सडक भासिएको क्षेत्रको भित्ता काटेर डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ ।’ शनिबार मध्यरातसम्म सवारीसाधन सञ्चालनमा आउने उनले बताए ।