सिरहाका अधिकांश गाउँ डुबानमा

सिरहा / रास– अविरल वर्षाका कारण नदीहरूमा बाढी आएपछि सिरहा जिल्लाका अधिकांश गाउँ डुबानमा परेका छन् । गत तीन दिनदेखि लगातार परेको अविरल वर्षाले सिरहाको कमला, बलान, गागैन, बाबुराम खोला, मुटनी खोलालगायतको नदीको पानी गाउँमा फसेकाले सिरहाका २ दर्जन बढी गाउँ डुबानमा परेका छन् ।

कमला नदीमा आएको बाढीले सिरहाको सारश्वर, मल्हनियाँ खोरी, पिरारीलगायतको गाउँ पानी पसेको छ । सारश्वरमा नै करिब सयौं घर डुबानमा परेको छ भने अन्य ठाउँमा सूचना आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

कमला नदीमा बाढी आएपछि सो नदीको किनारमा रहेको एक दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् भने सिरहाको बीच खण्डमा रहेको गागन खोला र बाबुराम खोलाको पानी गाउँमा पसेपछि सुखीपुर नगरका सयौं घरपरिवार बिचल्लीमा परेका छन् ।

यसैगरी बाबुराम खोलाको र पश्चिम गागन खोला बीचमा रहेको सुखीपुर गाउँका स्थानीय त्रसित छन् । दुवै नदीमा २० वर्षयताको सबैभन्दा ठूलो बाढी आएपछि खोलाको पानी गाउँमा पस्ने सम्भावना अत्याधिक रहेकाले प्रहरीहरू कटान क्षेत्रमा स्थानीयवासीहरू नजानसमेत उद्घोष गरेको इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले बताए ।

लहान नगरपालिका–१ स्थित नहरको बाँधमा घर बनाई बसेका अधिकांश दलितको घरआँगनबाटै पानी बगेको छ । एक दर्जनभन्दा बढी घरमा पानी पसेपछि उनीहरूले सुरक्षित बासस्थान खोजिरहेका छन् ।