सडकमै डुंगा सञ्चालन

जनकपुर / रास– जनकपुर उपमहानगरपालिकाले समयमा ढल सफाइ नगरेकाले जनकपुर जलमग्न भएपछि सडकमै डुंगा चलाएर स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । जनकपुर अञ्चल अस्पताल रोडस्थित मूल सडकमै पानी बगेर बजार क्षेत्र जलमग्न भएपछि त्यहाँ डुंगा चलाइएको हो ।

परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णको नेतृत्वमा सो ढुंगा चलाइएको छ । युवाहरूको विरोध कार्यक्रम हेर्न स्थानीयवासीको भीड लागेको थियो ।

सडक र नाला मर्मतसम्भारको नाममा ठूलो मात्रामा बजेट खर्च भएपनि प्रत्येक वर्ष जनकपुरको स्थितिमा कुनै परिवर्तन नभएकाले यस प्रकारको विरोध गर्नुपरेको संयोजक कर्णले बताए ।

जनकपुर उपमहानगरपालिकाले समयमा नाला सफाइ नगरेका कारण वर्षा भएपछि हाल जनकपुर जलमग्न भएको छ । उपमहानगरपालिकाले शनिबार दर्जनौं कामदार लगाएर नाला सफाइ गरेको छ ।

वर्षाले जनजीवन प्रभावित

अविरल वर्षाका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ । जनकपुर उपमहानगरपालिकामा मात्रै करिब ३ सय घरमा पानी पसेको छ । त्यसैगरी दर्जनौं परिवार छिमेकीहरूको घरमा शरण लिन बाध्य भएका छन् ।

बजार क्षेत्रमा पानीको सतह बढेपछि बाढीले एक दर्जनभन्दा बढी घरमा क्षति गरेको स्थानीयले जनाएका छन् । जनकपुर उपमहानगरपालिकाले पानी निकासका लागि कुनै गम्भीरता नदेखाएकाले स्थानीयको जनजीवन प्रभावित भएको स्थानीय मोहम्मद साजिदले गुनासो गरे । जनकपुर बजारको मूल सडकमा दुई फिटभन्दा गहिरो पानी बगेको छ ।